टिपर र ट्र्याक्टर सञ्चालनमा रोक

368

काभ्रे– मण्डनदेउपुर नगरपालिकाले वर्षात्को समयमा टिपर र ट्र्याक्टर सञ्चालन गर्दा निर्माणाधीन सडकमा हुने गरेको क्षतिलाई मध्यनजर गर्दै नगर क्षेत्रभित्रका सडकमा यही असार १ गतेबाट त्यस्ता सवारी सञ्चालनमा रोक लगाउने भएको छ ।

नगरपालिकाको गत २६ गते बसेको बैठकको निर्णयअनुसार आज नगरपालिकाले सार्वजनिक सूचना जारी गरी आगामी असार १ गतेबाट भदौ ३० गतेसम्मका लागि सो नगरपालिका भएर सञ्चालनमा रहेको राष्ट्रिय राजमार्ग बाहेकका नगर क्षेत्रभित्रका सडकमा टिपर र ट्र्याक्टर सञ्चालनमा रोक लगाइएको जनाएको हो ।

नगरपालिकाको निर्णयलाई बेवास्ता गरी कोही कसैले टिपर र ट्र्याक्टर सञ्चालन गरेको पाइएमा टिपरलाई प्रतिपटक २५ हजार रुपैयाँ र ट्र्याक्टरलाई प्रतिपटक १५ हजार रुपैयाँ जरिवाना गर्नेसमेत निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

तर, नगरपालिका क्षेत्रभित्रमा सडक तथा अन्य आयोजनाको निर्माण कार्य एवं निर्माण सामग्री ढुवानी गर्नको लागि ती साधनको आवश्यक परेमा भने सम्बन्धित वडाको सिफारिसका आधारमा नगरपालिकाको पूर्वस्वीकृति लिएर मात्रै सञ्चालन गर्न सकिने नगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here