पारिवारिक नजरबन्द भित्र तड्पिएको लोकतन्त्र

223

-कृष्णबहादुर बुढाथोकी

यस वर्ष पनि तामझाम गरेर लोकतन्त्र/गणतन्त्र) दिवस मनाइयो । विभिन्न कोणबाट व्याख्या, विश्लेषण गरियो । जनताका सुख सुविधाका कुरामा लामा भाषण छाँटियो तर सुस्ता उस्तै छ, कर्णालीको आँटो रोटोको समस्या बीसको उन्नाइस भएन । व्यापार घाटा सगरमाथाको चुलीबाट माथि चढेको छ । पार्टी, सरकार र सदन आपसी मतभेद र आरोप प्रत्यरोपमा उत्रिएको छ । जनताका पिठ्यूँमा ढाकर र हातमा खाडी मुलुकको दरवानी पासपोर्ट भिराइएको छ । शब्द फेरियो, संस्कार उस्तै छ ।

विगत कालदेखि आजसम्म नेपाल पारिवारिक राजनीतिको नजरबन्दमा जकडिएको छ । पृथ्वीनारायण शाहको उदयले फराकिएको नेपाली भूमि शासकको लागि रामराज्य र जनताका लागि यातना गृहभन्दा भिन्न छैन । एकताका थापा, बस्नेत र पाँडे परिवारको प्रतिष्ठाको कुरुक्षेत्र नेपाल अकाल मृत्युको कारक थियो । आफ्नै मामाको निर्मम हत्या र कोतमा सैयौं देशभक्त महामानवको एकचिहान बनाएर स्थापित जंगबहादुर र उनको जंगे शासनले जन्मजात राजा हुने शाह वंशको संस्कार पछ्याउँदै आफ्ना भाइ छोरा र तिनका सन्तानलाई जन्मजात जर्नेली पगरी भिराएर शासक बनाउने चलन चलाए । कुँवर थरका उनी र उनका वंश राणा, शमशेर, विक्रम आदि पदवीले विभूषित भए । सत्ताले महत्ता बढायो तर आपसी विश्वास भाइचारा र मानवता घटायो । यही संस्कारले उनको मृत्यु शंकास्पद रुपमा पथरघट्टामा भयो भने छोरा नातिहरु उनकै भाइ, भतिजाको हातबाट मारिए, काटिए । अन्तमा पापमोचन गर्न नाम थरको पछाडि जबरा झुण्ड्याए ।

तितो सत्य र दाउपेचले निदहराम यस व्यवस्थामा नेपाली जनता दास थिए । मौखिक कानुनका आधारमा चलेको शासनमा कसले कतिबेला कुन यातनाको सामना गर्नुपर्छ भन्ने कुराको एकिन थिएन । योग्यता, क्षमताभन्दा बढी महत्व चाकडीलाई दिइन्थ्यो । शासकको चाकडी गर्नु र निगाहबाट आएको जुठोपुरोले जीवन चलाउनु जनताको बाध्यता थियो । सीप र सिर्जना गर्नु अपराध मानिन्थ्यो । नेपाल कान्जी हाउस समान थियो भने नेपाली जनता कान्जी हाउसमा बन्धक पशुसमान थिए निगाहको मुठीमा ज्यूँने । राणाजीका शाखा सन्तान नातागोता चाहिं गर्भाशयमा आएदेखि आर्यघाटमा नपुगेसम्म जनताको करमा रजार्इं गर्थे । अत्याचार र दुराचार गर्थे । जनतालाई आफ्ना नोकर सम्झन्थे । देश रुँदा रमाउने जहानीयाँ राज्यको अतिवादले आजित जनताको आक्रोसको दावानलमा शासक खरानी भए । श्री ३ जनता भए । समशेरहरु “शेर” रहेनन् “सम”मात्र रहे तर घर झगडा मिलाउने नाममा आफ्नो हातको लाठी दिल्ली दरवारमा सुम्पिए, पराइको दासत्व शिरोपर गरेर ।

यस पछि भएको सत्ताको छिनाझम्टीले पञ्चायतको प्रादुर्भाव ग¥यो र अर्को जहानीयाा शासनको सक्रिय थालनी भयो । बिस्तारै राजाको जेठो छोारो जन्मजात राजा हुने प्रथाले सक्रिय राजतन्त्रको उदय भयो । राजा र तिनका वंश, नाता गोता कानुन र संविधानभन्दा माथि भए । राणाकालिन चाकडी प्रथा परिवर्तन भएर चाप्लुसी प्रथाको विजारोपण भयो । दरबार र तिनका वरिपरि रहनेले जनताको करले राम्रै गुजारा चलाए । राजाका भाइभारदारले वितण्ड मच्चाए । अपराधले सिमा पार ग¥यो । नमिता, सुनिताहरु सेतीमा बिलाए । पिस्कोर र छिन्ताङमा रक्तकुण्ड बनाइयो । प्रवीण गुरुङहरुले धोको पुगुन्जेल गाउन पाएनन् । शासकका पाउ सुवर्ण कलशले पखालेर जनताले नचाटे वास्तविक नेपालीमा गनिन पाइएन । अन्याय सहेर पनि सरकारकी जय भनेर चाप्लुसी गर्नैपर्ने बाध्यता कतिपयलाई थियो । जनता रोग, भोक, गरिबीले आक्रान्त हुदासमेत दरबार खुशि बनाउन माहिर चाप्लुसहरुले राजालाई घेराबन्दी बनाएर देश स्वर्ग भएको र जनता सुखी (सरकार सबै सुखी छन्) भएको फेहरिस्त पेश गरिदिए । भोकाले आँटो पिठो, रोगीले औषधि, बेरोजगारले रोजगार माग्दा सत्ताको नशाले मदहोस चाप्लुसहरुको चिप्ला कुरले अन्धो बनेका शासकले तिनका गलामा फासी लगाए। छातिमा गोली ठोके र जनताको मुख बन्द गर्ने हर्कत गरे, यसकै परिणाम स्वरुप राजा र तिनका भाइ,भतिजा, नातागोता, चाप्लुसी गरेर राज्यकोषमा रजाईं गर्नेहरुको सत्ता हरण गरी सडकमा हाजिर गराए मुक्तिकामी जनताले ।

राजा र तिनका वरिपरि बस्नेहरुको सत्ता खोेसेर जनताका सिपाही हौं भन्नेहरुलाई बागडोर सुम्पिए नेपाली जनताले बहुदलको नामाकरण गरेर । यस व्यवस्थामा पनि जनताका सिपाहीहरु सत्तामा पुगेपछि अघिल्ला शासकभन्दा पृथक देखिए यस मानेमा । अघिल्ला शासकले नातागोता, भाईभारदार चाकडीबाज र चाप्लुसहरुलाई जुठोपुरो दिन्थे भने यहाँसम्म आइपुग्दा नातागोता, परिवारसहित दलीय झुण्डलाई पनि राज्यकोषमा हालीमुहाली गर्न छुट दिन थालियो । परिवालाई च्याप्ने कामको निरन्तरता रह्यो । सत्तामा पुगेपछि सो दलका मान्छेले जे गरे पनि छुट हुन थाल्यो । नियम कानुन सत्ता इतरका दल र सर्वसाधारण जनतालाई भिराइयो । आस्थाका आधारमा काखापाखा भयो । निर्दोषलाई दोषी बनाउने र दोषीलाई चोख्याउने काम भयो । अराजकता र दण्डहिनताको विकास भयो । शासक र तिनका मतियारले सर्वसाधारणलाई आतङकित बनाउन थाले । धमिजा काण्ड, लाउडा काण्ड, दास ढुङ्गा हत्याकाण्डलाई सत्ताको आडमा तुहाइयो ।

जनताको शासनमा भएको यस्तो स्वेच्छचारतिाको खिलाफमा नेपालमा जनयुद्धको घोषणा भयो । हजारौं नेपाली सपुतले क्रान्तिको विगुल फुके । बम, बारुद र गोलीको खेल भयो । आज पनि हजारौं मन्छेको लास र सासको टुङ्गो छैन । संघियता, आत्मनिर्णय सहितको जातिय राज्य, सबै उत्पीडित जाति, महिला, दलित, फरक क्षमता भएकाहरुका लागि विशेष व्यवस्था गर्ने नाममा राज्यको खरबौं राजश्व खरानी बनाएर दुई दुईपटक संविधान सभाको चुनाव गरियो । सामन्त र दलालको अधिनायकत्व समाप्त गर्ने नाटक मञ्चन भयो । शदियौंदेखिको ठालु प्रथाको खारेज हुने अभिलासाले शोषण्को जाँतोमा पिसिएका दलित, जनजाति, विभिन्न पेशामा आवद्ध नागरिक भौतिक, आर्थिक, नैतिकरुपले मोर्चामा सामेल भए । विगतमा विकास भएका चाकडी, चाप्लुसी, भनसुन, नातावाद, कृपावाद, फरियावाद र परिवारवाद जस्ता वेथितिलाई समाप्त गरी अधिकार पाउने र ठालु प्रथाको समुल नाश गर्ने महत्कांक्षाले आन्दोलित लाखौं युवाको लास र सासको टुङ्गो लगाउन अझै पनि राज्य आनाकानी गर्छ ।

मुलुक आजादी गर्ने वहानामा सोझासाझा जनतालाई बली चढाएर स्थापना भएको लोकतन्त्रमा पनि केही परिवर्तन भएको आभास पाइन्न । विगतका शासकले झैं नीति, नियमलाई खल्तीमा राखेर छोराछोरी, सालासाली, मामा,फपु, र श्रीमती, (विचार मिल्दा) दाजुभाइ आदि आफ्नै जहान परिवारबाट शासन चलाउने अभ्यास गरिएको छ । अझ चुरो कुरो के हो भने व्यवस्था जुन आए पनि शक्ति सम्पन्न शासकका चम्चे, धनाढ्य र बहुसंख्यक जातिले शक्तिहिन शासित, निर्धन र अल्पसंख्यक जातिमाथि अत्याचार, शोषण र दमनको लाठो चलाउँदै आएका थिए, त्यसको निरन्तरता लोकतन्त्रमा जारी नै छ । यस प्रताडनबाट हैरान शोषित, पीडितहरुको काँधमा बसेर शासकीय स्वरुपको परिवर्तन गरिए पनि जातिय बाहुल्यता र शक्ति सम्पन्नताको आधारमा अल्पसंख्यक निमुखा र निर्धनहरु झनै शोषणमा परेका छन् ।

बहुमतिय प्रणालीमा चलेको संसदीय लोकतन्त्रमा जनतालाई भोट वैंकको रुपमा राखिएको छ । सबै दलहरु जनताको अभिमतले सत्ताको भ¥याङ उक्लनका लागि चुनाव जित्न लालयित हुन्छन् । गाउँका सोझासादा मानिसहरु हिजोका ठालु, सामन्त तथा धनाढ्यका पञ्जामा छन् भने बहुसंख्यक जातिका दबाबमा बाँचेका छन् । राजनीतिको मियो यिनै ठालु र बहुमतमा रहेको जातिलाई दिइएको हुनाले तिनै तहको सरकारमा अधिकांश नव धनाढ्यहरु र हिजोका कुख्यात सामन्त, दलालको प्रतिनिधित्व छ । बहुमतका लागि हरेक दलले सिद्धान्त नीतिमा भन्दा आफ्नो जितलाई प्राथमिकतामा राखेर तिनै सामन्त, ठालु, दलाल र जातीय संख्या बढी भएका मानिसलाई तितेपातीले शुद्ध बनाएर अघि बढाउँछ । लक्षित जाति र समुह उनीहरुलाई चोख्याउन केवल निरिह साक्षीका रुपमा मात्र उपस्थित छन् । यही प्रक्रियाले गर्दा विस्तारै लोकतन्त्रमा ठालुवादको खिया लाग्न थालेको छ । पैसा, पहुँच र परिचयको आधारमा जनताका अपेक्षा कुण्ठित हुदैछन् । श्री ५ र श्री ३ झलक दिने गरी सत्ता परिवारको वरिपरि घुमेको छ , यो घातक नहोला भन्न मिल्दैन ।
लोकतन्त्रको मूलमन्त्र जपेर सत्ताको बागडोर समातेका शासक पनि सिंहदरबारको कुर्सिमा बसेपछि विगतका शासकझैं छाते, हुक्के, बैठकेले पेश गरेका (राम्रो छ हजुर) को सन्देशमा विश्वास गर्ने चलनको बढोत्तरी भएको छ । केही सिमित वर्ग र जातका अल्प संख्यक मानिसलाई दयाको डोरीले घिसारेर नागिनको धुनमा लठ्ठिएको सर्प जस्तै नचाउन सत्तामा पु¥याएका जाति र वर्गलाई ट्रेडमार्क बनाएर समावेशीको लेप दलिएको छ । वास्तविक मजदुर, किसान, दलित, जनजाति, महिला र अल्पसंख्यकको अधिकार स्थापना हुन सकेको छैन । यिनीहरुको नामबाट समाजमा विगतदेखि रजार्इं गर्दै आएका ठालु, सामन्त, धनाढ्य, दलाल, पूँजीपति र तिनैका सन्तानले फाइदा लुटेका छन् । आज पनि गरिखाने शोषित पीडित र अल्पसंख्यक जनता निगाह र दयाको भरमा बाँच्न विवश छन् । समानताको नाममा समता विलय भएको छ । बहुमत वा शक्तिको भरमा सत्ता कब्जा लोकतन्त्र होइन । यो लोकतन्त्रको नाममा गरिएको कलङ्क हो । लोकतन्त्रमा शासक मालिक र जनता दास जस्ता हुदैनन् । सर्वसत्तावाद लोकतन्त्रको धमिरो हो । १२ औं लोकतन्त्र दिवस मनाइ रहँदा समेत यी घातक विशेषताको अवशेष दखिन्छ । परिवार मोह र सत्ता गठजोडको कुत्सित खेल चलिरहेको छ । जनतामुखी शासन भन्दा पनि नेतामुखी शासनको बोलावाल देखिन्छ । विगतका व्यवस्थामा जस्तै लोकतन्त्रमा पनि निर्मला हत्या प्रकरण, सनम शाक्य हत्या र ३३ किलो सुन काण्ड, प्रहरीले बरामद गरेको ५ किलो सुन राजश्वमा पुग्दा तामा बनेको प्रकरण, वाइडबडी विमान खरिद काण्ड, आदि आदि । वाक स्वतन्त्रमा अङ्कुस लगाउने विधेयकविरुद्ध पत्रकारको आन्दोलन, डेड अर्वको हेलिकप्टर खरिद काण्ड, ललिता निवास जग्गाकाण्डले पनि लोकतन्त्रको मानमर्दन गरेको छ ।

लोकतन्त्रको मर्म र जनताको भावनाको कदर गर्ने हो भने हरेक नेताले राजनीतिलाई परिवारभन्दा बाहिर निकालेर भाइ छोरा, सालासालीलाई राजनीतिभन्दा पर राखेर लोकतन्त्रका लागि लडेका सच्चा नागरिकलाई अवसर दिनसक्नुपर्छ । पदका लागि छिनाझम्टी छोडेर त्याग र निष्ठामा विश्वास गर्न सिक्नुपर्छ । यो लोकतन्त्रको सच्चा कदर हो, नेपाली जनताको सम्मान हो । नहि त ‘तावाबाट उफ्रेको माछो भुङ्ग्रमा’ भनेझैं जहानियाँ निरङ्कुश शासनबाट नेपाली जनताले ल्याएको लोकतन्त्र सिमित नेताको पारिवारिक नजरबन्दमा कैद हुन बेर लाग्ने छैन । नाम र दामका पछि लागेर हराम हुनुभन्दा त्याग र निष्ठाले कर्तव्यको पालना लोकतान्त्रिक धर्म हो ।

-(लेखक साकेला बहुमुखी क्याम्पस रतन्छाका पूर्व क्याम्पस प्रमुख हुन्)

खोटाङ, रुपाकोट मझुवानगडी नगरपालिका–८, बुवालुङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here