काठमाडौ, नेपाल सरकारले एक नेपाली एक फलफूलको विरुवा रोपण अभियान अघी बढाएसँगै त्यसलाई मुर्त रुप दिन नेपाली सेनाले एक जवान एक विरुवा (फलफूलको बोट) रोपण अभियान सुरु गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार जंगी अड्डा हाताभित्र विभिन्न जातका फलफूलका विरुवा रोपेर यस अभियानको सुरु गरेका छन् । स्थानीय प्रतिनिधी तथा जनसमुदायको समन्वय, सहकार्य एवं सहभागीता जुटाई नेपाली सेनाका सबै पृतना, वाहिनी, गण र गुल्महरुबाट आ आफ्नो जिम्मेवारी क्षेत्रका विभिन्न स्थानहरुमा विरुवा रोप्ने कार्यक्रम रहेको छ । सेनाले व्यारेक हाताभित्र र बाहिर गरी १ लाख ५० हजार ९ सय ७७ वटा विभिन्न जातका स्थानीय हावापानी सुहाउँदो फलफूल तथा अन्य विरुवा रोपण, संरक्षण र सम्बर्द्धन गर्ने जनाएको छ । शुक्रबार प्रधानसेनापति थापाको उपस्थितिमा जंगी अड्डा हाताभित्र २५० वटा विभिन्न जातका फलफूलको विरुवा रोपण गरिएको छ ।


















