नयाँ अपराध नियन्त्रण गर्न नयाँ कानुन जरुरी

197
Nisha Tamang

पितृ सत्तात्मक सोच रहेको हाम्रो समाजमा महिलामाथि शारीरिक, मानसिक र संवेगात्मक शोषण गर्ने काम दिनहुँ भइरहेका पाइन्छन् । शोषणका नयाँ नयाँ शैलीहरू पनि अपनाउन थालिएका छन् । पितृ सत्तात्मक सोचकै कारणबाट महिलाहरू शारीरिक तथा मानसिक रूपबाट समाजमा प्रताडित भइरहेका देखिन्छन् । आफ्नै घरपरिवारका पुरुष सदस्यहरूबाटै लैङ्गिक हिंसाको शिकार भएका छन् महिलाहरू । लैंगिक दृष्टिकोणले हेर्दा महिलामाथि विभिन्न प्रकारका हिंसात्मक कार्यहरू भएका पाइन्छन् । यस्ता हिंसामा शारीरिक र मानसिक दुवै खालका हिंसा हुने गर्छन । आजभोलि महिला हिंसा विरुद्ध चर्को आवाज उठेपनि यसको नियन्त्रण भन्दा बढोत्तरी भएको देखिन्छ । महिलामाथि हुने गरेका हिंसात्मक कार्यहरू दिन प्रतिदिन बढ्दै गएको पाईन्छ । हालै मात्र काठमाडौंमा आश्चर्यजनक रूपमा महिलामथि नयाँ शैलीको हिंसाको घटना बाहिर आएको छ, जो सिरिन्ज आक्रमणको नाममा चर्चित भएको छ ।

काठमाडौं उपत्यकामा युवतीमाथि सिरिन्ज आक्रमणको खबरले सबैजना त्रसित भएका छन् । यो आक्रमणको शैली काठमाडौं उपत्यकाबाट जिल्ला र गाँउतर्फ पनि सरुवा हुनै खतरातर्फ सावधान हुनु जरुरी छ । महिलामाथि सिरिन्ज आक्रमण कसले ग¥यो भन्ने सबैतिर चर्चाको विषय बनेको थियो । सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा होस् वा कतै हिडिरहेको अवस्थामा होस् निरन्तर रूपमा सरिन्ज आक्रमणमा परेको भन्ने धेरै उजुरी आएपछि प्रहरीले अनुसन्धान गरेको थियो । जब अनुसन्धान भयो तब अनुसन्धानबाट आश्चर्यजनक खुलासा पनि भयो । घटना पनि निकै नै आश्चर्यजनक देखियो । कसैले पत्याउनै नसकिने घटना सार्वजनिक भएको छ । महिलामाथि सिरिन्ज आक्रमण नभएर ढलान किलाले घोचेको खुलासा भएको छ । अझ आश्चर्यजनक रूपमा आक्रमणकारीले रमाइलोका लागि यस्तो कार्य गरेको भनेर बयान दिएपछि झनै महिलामाथि हिंसाको नयाँ डरलाग्दो घटना विकास हुनसक्ने संहेत भएको छ । यस्ता आक्रमणकारीलाई समयमै तह लगाउन प्रयास गरिएन भने यो महामारीका रूपमा फैलिने निश्चित छ । सिरिन्ज आक्रमण गरेको आरोपमा रामेछाप स्थायी घर भएका काठमाडौंको महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका ३० वर्षीय सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । कार्कीलाई प्रहरीले गत शुक्रबार बिहान पक्राउ गरेको थियो । आरोपी कार्कीले सो घटना आफूले गरेको प्रहरी समक्ष बयान दिएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर कार्कीलाई सार्वजनिक गरेको थियो । कार्कीले सुई नभएर काठको सुइरो र ढलान किला प्रयोग गरेर युवतीहरूलाई घोच्ने गरेको बयान दिएका थिए । युवतीहरूलाई एक्लै देखे आक्रमण गर्ने उनले बयान दिएका थिए ।

पुरुषभन्दा शारीरिक रूपमा कमजोर भएका कारण पनि महिला हिंसाबाट पीडित हुनुपरेको पनि होला । तर नेपाली समाजमा रहेका महिलाले आफ्नै समाजभित्रका पुरुषहरूबाट विभिन्न समस्या भोग्नु परेको छ यस्ता समस्या समाधानका लागि कानुन र व्यवहारमा एकरूपता ल्याउनुपर्ने आवश्यकता पनि छ । महिलासँग सम्बन्धित हिंसा वा मुद्दा महिला स्वयम्ले नै चुपचाप सहने गरेका छन् । समाजले हेर्ने दृष्टिकोण नराम्रो भएको हुनाले आफूमाथि जतिसुकै अन्याय भए पनि सकभर त्यस्ता कुरा महिलाले सार्वजनिक गर्न चाहँदैनन् र चूप लागेर बस्ने गरेका छन् ।‘सिरिन्ज आक्रमण’ले महिलालाई सचेत गराएको छ । रमाइलोका लागि भन्दै कार्कीले गरेको यस्तो हिंसात्मक गतिविधिका बारे महिलाले उजुरी नगरेका भए अन्य महिला समेत चूप लागेर अन्याय सहँदै बस्ने थिए होलान् र कार्कीको हिंसात्मक गतिविधि अझ बढ्ने सम्भावना हुन्थ्यो । तसर्थ महिला हिंसाको अन्त्यका लागि आवाज उठाउन जरुरी छ ।

अभियुक्त कार्कीले साउदीअरबमा रोजगारीका लागि पुगेका बेला त्यतैतिरबाट यस्तो अपराधिक कला सिकेर आएको बयानमा खुलाएका छन् । यस्तो अपराधजन्य प्रवृतिलाई दण्डनीय बनाउन सकिएन भने विदेशको अपराधको कला हाम्रो जस्तो अविकसित मुलुकमा निकै मंहगो पर्न जाने निश्चित छ । शहरी इलाकामा प्रवेश गरेको यो अपराधले गाँउ घरमा प्रवेश पायो भने कति महिलाहरू शिकार बन्नुपर्ने होला ? अपराधीलाई कठोर दण्ड दिने कानूनी व्यवस्था नहुँदासम्म अपराध नियन्त्रण हुँदैन भन्ने कुरा तमाम घटनाक्रमहरूबाट पुष्टि भइसकेको छ । नयाँ अपराधको लागि नयाँ कानुन आउनु जरुरी देखिन्छ । [email protected] -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here