एजेन्सी / इरानले सन् २०१५ मा गरिएको परमाणु सम्झौताको अर्को एउटा प्रावधान तोडेको घोषणा गरेको छ । तेहरानमा आयोजित एक पत्रकार सम्मेलनमा इरानी सहायक विदेशमन्त्री अब्बास अराक्चीले उक्त घोषणा गरेका हुन् ।
अराक्चीले आफ्नो देशले परमाणु सम्झौताको युरेनियमको थप प्रशोधन वा इनरिचमेन्टको सीमास्तर तोडेको छ । त्यस्तो इनरिच्ड युरेनियम आणविक भट्टीमा इन्धनको रूपमा र आणविक अस्त्रमा पनि प्रयोग हुने जानकारी दिएको छ । तरऽ पनि इरानले आणविक हतियार निर्माण गर्ने आफ्नो कुनै मनसाय नरहेको जानकारी दिएको छ । अराक्चीले इरान अन्तर्राष्ट्रिय सम्झौताबाट पछि नहट्ने र त्यसलाई रद्द पनि नगर्ने जानकारी दिएको छ । अराक्चीले यूरोपेली संघका विदेशनीति प्रमुखलाई पठाएको पत्रमा इरान अब उक्त सम्झौतामा तोकिएका विभिन्न सीमामा अडिग नरहने पनि जनाएको छ । सहायक विदेशमन्त्री अराक्चीले इरानले अझै उक्त सम्झौता बचाउन चाहेको तर आफूहरूले गरेको प्रतिबद्धतामा यूरोपेली देशहरू पछि हटेको आरोप लगाएको छ ।
इरानले प्रत्येक ६० दिनमा सन् २०१५ को सम्झौतामा उसले गरेका प्रतिबद्धताबाट एक कदम पछाडि फर्कंदै जाने बताएको छ । इजरायलका ऊर्जा मन्त्रीले इरानले परमाणु शस्त्रीकरणतर्फ आफ्नो कदम बढाएको भनी आलोचना गरेका छन् । इरानको यस घोषाणाबाट अमेरिका–इरानबीचको तनाव थप बढ्ने भएको छ ।

















