-निमकान्त पाण्डे
हालसालै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छोडेका केही नेता कार्यकर्ताहरू डबल नेकपामा प्रवेश गर्ने कार्यक्रममा पुष्पकमल दाहाल प्रचण्डले हेगलाई लिएर दिएको अभिव्यक्ति अहिले चर्चामा छ । प्रचण्डले भनेका थिए, केही व्यक्तिहरू मलाई हेग पु¥याउन चाहन्छन्, मलाई हेगमा पु¥याइयो भने म विश्वकै हिरो हुने छु । हेगमा पु¥याइए आफूले न्याय र शान्तिका लागि लडेको कुरा विश्वले थाहा पाउने प्रचण्डको दाबी थियो । प्रचण्डले हेगकै प्रसंगमा कुरा गर्दै गर्दा अर्काे गम्भिर विषयमा पनि बोलेका थिए, उनले विप्लव पनि डबल नेकपामा समाहित नभएर सुखै नपाउने दाबी पनि गरेका थिए । यदि समाहित नभए सिद्धिन तयार हुनुपर्ने उनको चेतावनी थियो । प्रचण्डको यो भनाईको आशय विप्लवले आत्मसमर्पण गरेनन् भने सिध्याइदिन्छौँ भन्ने थियो ।
एउटा क्रान्तिकारी छलाङ मार्ने उदेश्यले हिँडेको नेता सहजै सत्तासीन पार्टीमा समाहित हुने कुरै हुँदैन । प्रचण्डले भनेजस्तो समाहितको एउटै विकल्प भनेको आफूले गरिरहेका गतिविधिप्रति पश्चाताप गर्दै कुनै हिसाबको आत्मसमपर्ण नै हो । त्यो विप्लवका लागि त्यति सहज विषय होइन । तर त्यसो नगरे सिद्धिन तयार हुनुपर्ने प्रचण्डको भाषाले प्रचण्डमा अझै पनि मानव हत्याको भोक बाँकी नै रहेको संकेत गर्छ ।
प्रचण्डले हेगमा पुगे त्यो आफ्नो लागि गर्वको कुरा हुने र शान्ति र न्यायका लागि लडेको भनेर सबैले थाहा पाउने भन्दै गर्दा प्रचण्डसामु केही अनुत्तरित प्रश्न तेर्सिन्छन् । यदि उनले गरको आन्दोलन शान्ति र न्यायका लागि थियो भने दशौँ हजार जनतालाई बलिदानीका लागि उनले किन पे्ररित गरे ? उनले जुन वर्गको हित र न्यायका लागि भनेर सशस्त्र युद्धको थालनी गरेका थिए, आज प्रचण्ड धनाढ्य र सामन्त वर्गमा परिवर्तित हुँदा उनका लागि बलिदानी गर्नेहरूको पारिवारिक अवस्था के छ ? के त्यो आन्दोलन आजको उनी र उनको परिवारको समृद्धि र सुख सयलका लागि थियो ?
स्वभाविक रूपमा हिजो उनी जनतासँग थिए, त्यसैले उनले न्याय र मुक्तिको कुरा गर्दा जनताले पत्याउने अवस्था पनि थियो । आज उनले जुन थालमा खाए, त्यही थालमा पिसाब फेर्दै हिडिरहेका छन् । हिजो सामन्तवाद र दलाल पूँजीवादको स्वार्थमा काम गर्ने भनेर आरोप लगाउने सुरक्षा निकायको सुरक्षा घेरा भित्र बस्ने उनलाई हिजो ज्यान बाजीमा राखेर सुरक्षा दिने कार्यकर्ताप्रति विश्वास छैन । हिजो जसबाट सबैभन्दा बढी असुरक्षित महसुस गर्दै जनताको सुरक्षा घेरामा बस्ने उनले आज राज्यको सुरक्षा घेराभित्र बसेर समानता र न्यायका कुरा गरिरहेका छन् ।
प्छिल्लो समय आफैले सुरु गरेको आन्दोलनलाई विप्लवले निरन्तरता दिन थालेपछि विप्लवलाई नै तह लगाइदिन्छौँ भन्ने उनको अभिव्यक्तिले उनी कतिसम्म वर्ग विरोधी भएर निस्किए भन्ने कुरा प्रष्टै बुझ्न सकिन्छ । हिजो साम्राज्यवाद र विस्तारवादलाई मुख्य वर्ग सत्रु ठान्ने प्रचण्डलाई आज विस्तारवादी भनिने भारत सबैभन्दा प्यारो लाग्न थालेको छ भने साम्राज्यवादी भनिने अमेरिका उनको घुमफिर गर्न जाने एउटा नयाँ गन्तव्य बनेको छ । करोडौं मूल्य पर्ने महलमा बसेर सुरक्षा कवच सहितको करोडौँ पर्ने गाडी चढ्ने हैसियत बनाएका उनले हेगमा पुग्दा गर्व हुन्छ भन्नु बनावटी तर्क हो ।
यस्तो अवस्थामा प्रचण्डको हेग यात्रा भएपनि त्यो क्रान्तिकारी नेताका रूपमा होइन, एउटा खुंखार युद्ध अपराधीका रूपमा मात्र हुने छ ।
सर्वहाराको मुक्तिकामी आन्दोलनमा लागेका उनले सर्वहारा वर्गकै हितका लागि काम गर्दा गर्दै हेगमा जाने अवस्था आएको भए विश्वका सर्वहारा वर्गको नजरमा उनी साच्चिकै हिरो नै हुने थिए । सर्वहाराको मुक्तिका लागि काम गर्दै गर्दा हेगमा जानुपर्ने अवस्था आएको भन्दै विश्वभरका मजदुर वर्गको उनीप्रति एउटा भावनात्मक सम्बन्ध र झुकाव सधैभरी रहिरहन्थ्यो ।
आज उनी आम जनता, मजदुर र किसान वर्गको नजरमा एउटा धोकेवाज अपराधीका रूपमा आरोपित भएका छन् । हिजो उनको सुरक्षा र उनले सुरु गरेको कथित आन्दोलनका लागि बलिदान दिन तयार हुने रोल्पा र रुकमका जिल्लावासीहरू आज प्रचण्डका लागि विरानो बन्न पुगेका छन् । हिजो जसले उनको टाउकाको मूल्य तोके र उनको टाउको ल्याउने जिम्मा पाए आज प्रचण्डका लागि उनीहरू नै प्यारा सहयात्री बनिरहेका छन् । यस्तो अवस्थामा प्रचण्डको हेग यात्रा भएपनि त्यो क्रान्तिकारी नेताका रूपमा होइन, एउटा खुंखार युद्ध अपराधीका रूपमा मात्र हुने छ । उनले हेगको यात्रा गर्दै गर्दा विश्वले उनलाई शान्ति र न्यायको पक्षमा लड्ने नेता होइन, जनतालाई धोका दिएर दशौँ हजारको रगतमाथि व्यक्तिगत स्वार्थ र आकांक्षा पुरा गर्ने अपराधीका रूपमा मात्र हेर्ने छन् । त्यो क्षण प्रचण्डले कस्तो महसुुुस गर्लान् ? त्यो उनको कुरा हो, तर आम नेपाली सर्वसाधारण जनताले उनलाई न्यायप्रेमी नेताका रूपमा होइन, जनतालाई धोका दिने युद्ध अपराधी अन्तराष्ट्रिय कानुनको कठघरामा उभिएको महसुस गनुपर्ने अवस्था देशभित्र विकसित भइरहेको छ । अहिले पनि राजनीतिक आन्दोलनलाई दमन गर्ने र व्यक्तिलाई सिध्याउने उनको अभिव्यक्तिले व्यक्ति हत्याप्रतिको उनको मोह अझै बाँकी रहेको देख्न सकिन्छ । हिजो जनविरोधी सरकारका विरुद्ध हतियार उठाएको दाबी गर्नेे उनी अहिले त्यही जनविरोधी भनिएको सरकारको मतियारका रूपमा आफैले सुरु गरेको क्रान्तिकारी आन्दोलनलाई सिध्याउने दिशामा अघी बढिरहेका छन् । सर्वहारावर्ग र क्रान्तिकारी आन्दोलनका लागि यसभन्दा ठूलो धोका के हुन सक्छ ? यस्तो निकृष्ट काम गर्दा पनि आफूले गर्व गरेको ठान्ने यी प्रचण्ड उनै प्रचण्ड भनेर पत्याउन पनि नसकिने अवस्था विकसित भएको छ । गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तै….! आगे प्रचण्डलाई चेतना भया ! – जनधारणा साप्ताहिक


















