बाजुरा– बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शान्तिटोलका एकैघरमा आमा र छोरी रहेका छन् । राति करीब १ बजेतिर घरमाथिबाट खसेको पहिरोमा परेर ३० वर्षीया आमा निरुता चदारा र छ वर्षीया छोरी किस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।
पहिरोमा परी थप ५ घाइते भएका छन् । घाइते हुनेमा ९० वर्षीय जङ्गे चदारा, जडेनी चदारा, सुके चदारालगायत छन् ।
वर्षा नरोकिएका कारण गाउँमा थप त्रास फैलिएको वडा सदस्य प्रेम विकले जानकरी दिए । थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय बाजुराको टोली र घटमुना प्रहरी चौकीबाट प्रहरीको टोली त्यसतर्फ गइसकेको जनाइएको छ ।


















