काठमाडौं / गृहमन्त्रलयले गैर कानुनी रुपमा नेपाली नागरिकताको प्रमाणपत्र लिनेविरुद्धको छानबिन प्रक्रिया अगाडि बढाएको छ । झुटो विवरण पेश गरी अवैध तरिकाले नागरिकता लिएको भन्दै राजपाका नेता राजेन्द्र महतो सहितको नागरिकता छानविन सुरु गरेको छ ।
नेपालका विभिन्न सीमावर्ती जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट गैरनेपालीले नेपाली नागरिकताको प्रमाणपत्र पाएको चर्चापछि गृहले यसबारे छानबिन प्रक्रिया अगाडि बढाएको हो । गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा उजुरी आएका जिल्ला प्रशासनबारे अनुसन्धान गर्न समिति नै गठन गरेर अनुसन्धान र अध्ययन प्रक्रिया अगाडि बढाइएको छ ।
गृह मन्त्रालयका अनुसार तीन सदस्यीय नागरिकता छानबिन समिति गठन गरिएको छ । असार १२ गते गठन गरिएको समितिमा गृहकै शाखा अधिकृत दयाराम श्रेष्ठ र कानुन अधिकृत भोजराज दाहाल सदस्य छन् ।
सरकारले यसअघि झुटो विवरण पेश गर्ने ८ जनाको नेपाली नागरिकता खारेज गरेको थियो । साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले अशोक साह, विन्दे महतो, दानादेवी महतो (विन्दे महतोको पत्नी -वैवाहिक अंगीकृत), सोसील महतो (दानादेवीकी बुहारी), राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता खारेज गर्ने निर्णय गरेको थियो ।

















