काठमाडौं– एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच जनालाई सोमबार पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिका–१२ का २१ वर्षीय सोनुकुमार साह, वडा नं ४ का ३१ वर्षीय लीलाराज शिवमन्त्री, वडा नं १२ का २२ वर्षीय लालबाबु मण्डल, सोही वडाका २४ वर्षीय सुजीतकुमार मण्डल र सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका–७ का २० वर्षीय अविनाश महतो रहेका छन् ।
उनीहरूलाई लालबाबु मण्डलले सञ्चालन गरेको इमेज स्टुडियोमा रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा सञ्चालनमा रहेको एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्रको उत्तर तयार गरिएको पानाको फोटोकपी गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका विशेष प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ गरिएकाहरूमाथि सार्वजनिक शान्तिविरूद्धको मुद्दा शीर्षकमा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।


















