घर र शौचालय बनाई दिन्छौं भनी ठगी गर्ने ५ जना पक्राउ

171

काठमाडौं / ५ लाख रुपैयाँ बराबर रकमको दुई कोठे घर र शौचालय बनाई दिन्छौं भनी ठगी गर्ने ५ जनालाई काठमाडौं महाबौद्धबाट बिहीबार दिउँसो महानगरीय प्रहरी बृत्त बालजुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं सितापाईला बस्ने मकवानपुर राक्सिराङ गाउँपालिका-४ घर भएका २४ वर्षीय राज प्रजा, २५ वर्षीय राज कुमार प्रजा, ३० वर्षीय दिपक प्रजा, ३८ वर्षीय श्याम कुमार प्रजा र ३४ वर्षीय विनोद प्रजा रहेका छन् । प्रहरीले उनीहरुको साथबाट नगद ८५ हजार ५ सय रुपैयाँ, नक्कली छाप ४ थान, रजिष्ट्रेशन फर्महरु, भिजिटिङ कार्ड, रजिष्टरहरु, एभरेष्ट र महालक्ष्मी बैंकको चेक बुक २ थान, मोबाइल २ थान र नेपाली राहदानी १ थान समेत बरामद गरेको छ ।

काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थितमा विभिन्न व्यक्तिहरुको गिरोहले ठगी गर्दै गरेको भन्ने सूचनाको आधारमा उक्त बृत्तबाट खटिएको प्रहरीले उनीहरुलाई चितवन राप्ती नगरपालिका-१३ बस्ने २ जना व्यक्तिलाई ठगी गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । निजहरुले मकवानपुरको लोथरमा ३ सय घर धुरीको चेपाङ वस्ती बनाईदिने भनी प्रत्येक घर धुरीबाट फर्म भरे वापत २ हजार रुपैयाँ र पछि उक्त रकम बराबरको घर र शौचालय बनाई दिने भनी ठगी गर्ने गरेको अनुसन्धनाबाट खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here