दुईतिहाइको दम्भलाई जनताको खबरदारी

85

काठमाडौं / चर्चित टेलिभिजनको कार्यक्रमको प्रस्तोता रवि लामिछाने हिजो अपरान्ह काठमाडौं आइपुगेका छन् । विमानस्थलमा आइपुग्दा उनलाई पञ्चेबाजासहित भव्य स्वागत गरिएको छ ।

हजारौं जनसहभागिताबीच उनको स्वागत गरियो । विमानस्थलमा उपस्थित रहेका सञ्चारकर्मीहरूसँग बोल्दै लामिछानेले आफू तत्काल राजनीतिमा आइहाल्ने सोचाइ नबनाएको र सञ्चारमाध्यममार्फत नै जनताको चाहना अनुसार योगदान पु¥याउने प्रतिबद्धता समेत व्यक्त गरे । उनको समर्थनमा उत्रिएको जनसागरलाई विशेष धन्यवाद दिंदै लामिछानेले आफूलाई अझै सत्कर्म गर्ने प्रेरणा मिलेको पनि जनाए ।

लामिछानेको यो प्रतिबद्धताले दुईतिहाइ बहुमतको सरकारलाई पनि सत्मार्गमा लाग्नु प्रेरित गर्नुपर्ने आशा जनमानसमा जगाएको पाइयो । लामिछानेले गरेका दुई काम वैदेशिक रोजगारीमा ठगिएकाहरूको उद्धार र देशमा व्याप्त भ्रष्टाचारको भण्डाफोर ।

सरकारले यी उल्लेखित दुई कामलाई मात्र देखिने गरी राष्ट्रकै एजेण्डा बनाएर गर्न सक्ने हो भने रवि लामिछानेको पक्षमा देखिएको जनमत सरकारको पक्षमा आउने विश्वाससमेत रविको स्वागतमा उपस्थितहरूबाटै व्यक्त गरेको सुनियो । राजनीतिक परिवर्तनलाई सही ढङ्गले सदुपयोग गर्न नजान्दा देशमा राजनीतिक दुर्घटना हुने सम्भावना बढिरहेको छ । तर राजनीतिक दुर्घटनाले देशलाई समृद्धितिर पु¥याउने हो वा थप दुर्गतितिर भन्ने त्रास जनतामा व्याप्त पाउन थालिएको छ ।

राजनीति के का लागि ? राजनीतिको गन्तव्य के हो ? के जनताको मत सत्तामा पुग्ने भ¥याङ मात्र हो ? मुलुकमा विकास समृद्धि र परिवर्तनको आभास गराउने जिम्मा कस्को हो ? राजनीतिप्रति जनताको चरम निराशा किन ? नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा दुई तिहाई बहुमतको सरकार बनेको झण्डै दुई वर्षसम्म जनताले परिवर्तनको कुनै अनुभूति गर्न नसकिरहेका बेला हालै टेलिभिजन प्रस्तोता रवी लामिछानेको पक्षमा देखिएको जनलहरले यस्तै प्रश्नहरूको जवाफ खोजिरहेको छ ।

खुल्ला राजनीतिक वातावरण सुरु भएको सात दशकसम्मको अवधिमा तीस वर्षलाई निर्दलीय पञ्चायतकाल भनेर दोष पन्छाउन सकिएला । परन्तु त्यसपछिका वर्षहरू परिवर्तनको सम्वाहक राजनीतिक दल नै हुन् भन्ने विश्वासमा बाँचेका नेपाली जनताले जब जनताकै बीचबाट आएको कम्युनिस्ट पार्टीको सरकारबाट समेत कुनै राहत महसुस गर्न नसकेपछि निराशा बढेको छ ।

परिवर्तनको उद्घोषलाई समर्थन गर्दै जनताले सडक र सदनमा समेत परिवर्तनकारी शक्ति दाबी गर्ने राजनीतिक दलहरूलाई साथ र समर्थन दिएका थिए । व्यवस्था त परिवर्तन भयो तर अवस्था अहिले पनि उस्तै मात्र होइन, झनै कहाली लाग्दो छ । यसले जनतामा चरम निराशाको अवस्था सृजना भइरहेको संकेत हुन्छ । जनतामा सानो सानो काम गरेर भएपनि विश्वास जित्न सफल भएका व्यक्तिहरूप्रतिको सदभाव र सम्मान बढेबाटै अवस्था बुझ्न सकिन्छ ।

धुर्मुस सुन्तलीहरूप्रतिको जनताको समर्थन र सहानुभूति तथा हालै हिरासतबाट धरौटिमा बाहिरिएका सञ्चारकर्मी रवी लामिछानेको समर्थनमा जुटेको जनलहर त्यसैको प्रतिविम्ब हो । राजनीतिक दलहरूले आफैले ल्याएको व्यवस्थाप्रति न्याय गर्न नसक्नु नै आज जनतामा चरम निराशाको अवस्था सिर्जना हुनुको मुख्य कारण हो ।

राजनीतिक दलहरूले हिजो आफूले गरेका प्रतिवद्धतालाई इमान्दारिताका साथ पालना मात्र गर्ने हो भने पनि आज ठूूूलोे संख्यामा नागरिकहरूको साथ राजनीतिक दललाई वा सरकारलाई नै हुन सक्छ । रवि लामिछानेले टेलिभिजनको पर्दाबाट केही समस्यामा परेका व्यक्तिको बारेमा बोलेका हुन् । केही भ्रष्ट प्रवृत्तिको भण्डाफोर गरेका हुन् । त्यो भन्दा बढी उनले केही गरेका छैनन् । तर पनि जनलहर रवि लामिछानेतर्फ किन आकर्षित भयो ? यो सत्ता सञ्चालकहरूका निम्ति अहम् प्रश्न हो । जनताले धेरै ठूलो अपेक्षा गरेका छैनन् । तत्काल केही राहतको महसुस हुने गरी सरकारबाट काम हुन सकेन भन्ने असन्तुष्टिको अभिव्यक्ति हो रवि लामिछानेको पक्षमा देखिएको जनलहर भन्ने कुरा बुझ्न जरुरी छ ।

राजनीतिक दल र राज्यसँग त अथाह शक्ति र स्रोत साधन छ नै । नेताहरूले इमान्दारिताका साथ जनताका समस्या समाधान गर्न चाहने हो भने एउटा, दुईटा र चारवटा मात्र होइन समग्र मुलुकको अवस्थालाई नै परिवर्तन गर्न सक्ने हैसियत राख्छन् । तर त्यो काम राज्य र राजनीतिक दलहरूबाट हुन सकिरहेको छैन । नेपाली जनतालाई खुशी र उत्साहित बनाउन धेरै कुरा गरिरहनु पर्दैन ।

स्वभावैले नेपाली जनतो छिट्टै उत्साहित हुने र छिट्टै आवेगमा आउने गर्दछन् । राजनीतिक दलहरूले परिवर्तनका लागि भन्दै जनतालाई आवेगमा ल्याउने काम त गरे तर उत्साह छर्न सकेनन् । जबकी त्यो उत्साह प्रधानमन्त्रीको एउटा भनाईमा आउथ्यो । त्यो ०७२ सालमै देखिएको हो । प्रतिवद्धतामा आउँथ्यो । त्यो १० वर्षे युद्धमा होमिएको जनलहर र ०६२÷०६३ को बेला पनि देखिएकै हो ।

आफैले गरेका विगतका प्रतिवद्धता र आश्वासन पुरा गर्न अहिले के ले रोकेको छ नेताहरूलाई ? आम जनताको मुख्य प्रश्न यही हो । अझ बिडम्बना भन्नुपर्छ त्यही भीडले ल्याएको परिवर्तनलाई आधिकारिक मान्ने, त्यही भीड्ले दिएको मतलाई आधिकारिक मान्ने, तर जब जनताले विकल्प खोज्न थाल्छन् त्यो भीडलाई भेडाको संज्ञा दिएर जनतालाई अपमान गर्ने मूर्खतापूर्ण काम भइरहेको छ ।

हाम्रो राजनीतिक मानसिकता कति धेरै दुषित छ भनेर यसैबाट बुझ्न सकिन्छ । आज एउटा व्यक्तिप्रति भरोसा राख्दै सडकमा आएका जनतालाई भीडको संज्ञा दिने नेताहरूले भोलि चुनावका बेला तिनै जनतासंग मत चाहिदैन भन्ने हिम्मत राख्न सक्लान् ? अहिले राजनीतिक दलका नेता कार्यकर्ताहरूले जे जस्तो चरित्र प्रदर्शन गरेका छन् त्यसले मेरो रगत रगत हो, अर्काको रगत पानी हो भन्ने जस्तो प्रवृत्ति देखाएको महसुस गर्न सकिन्छ । मुलुकको दिर्घकालीन विकासको लक्ष्य सहित अघि बढिरहेका राजनीतिक दलमा देखिएको यो संकीर्ण सोचले उनीहरूकै राजनीतिक भविष्यलाई कमजोर बनाएर लैजाने निश्चित छ ।

जनताले लामो समयदेखि अपेक्षा गर्दै आएको चाहना भनेको सुदृढ व्यवस्था, समृद्ध मुलुक र सहज जीवनस्तर हो । समृद्ध मुलुकका लागि यस भन्दा अघिका व्यवस्थामा पनि प्रयास भएका थिए । ३० वर्षे पञ्चायती व्यवस्था नेपालकै इतिहासमा दीर्घकालीन विकास र समृद्धिका लागि एउटा स्वर्णीम समय थियो भन्नुपर्ने अवस्था अहिले विकसित भएको छ । त्योबेला नेपालको राष्ट्रियता पनि निकै मजबुत थियो । मुलुकको दीर्घकालीन विकासका लागि महत्वपूर्ण योजना तय गर्ने काम त्यतिबेलै भएका हुन् । जसको प्रभाव अहिलेसम्म पनि महसुस गर्न सकिन्छ । त्यतिबेलाको एउटै मात्र नराम्रो पक्ष भनेको राजनीतिक अधिकारबाट जनतालाइ बन्चित गर्नु थियो ।

आज पनि जनताले पूर्ण राजनीतिक अधिकार त प्राप्त गर्न सकेका छैनन् नै ! जनतालाई राजनीतिक अधिकारको सदुपयोग गर्ने क्रममा प्रतिबन्धहरू अहिले पनि कायमै छन् । राज्य र सत्तारुढ दलहरूले नै आफैलाई मत दिने जनताको समुहलाई भेंडाहरूको भीड भनिरहेको छ । जबकी विकास र समृद्धि कोरा भाषण र सपना मात्र बनेको छ । यस्तो अवस्थामा जनताले हिँजो भन्दा आज ठिक छ भनेर चित्त बुझाउने कुरा के छ ? बरु राजनीतिक दलहरूका लागि जनताको भावनालाई सम्बोधन गर्ने यो एउटा महत्वपूर्ण समय हो ।

जनतामा रहेको आक्रोशलाई साम्य पार्दै आफूहरूबाट भएका गल्ती कमजोरीलाई सुधार गर्दै अघी बढ्ने र विश्वास दिलाउने हो भने अहिले पनि जनताको विश्वास राजनीतिक दलहरूप्रति नै हुन्छ । किनभने मुलुकको राज्य व्यवस्था सञ्चालन गर्ने भनेको राजनीतिक दलहरूले नै हो । यदि त्यो कुरालाई महसुस नगर्ने र आफूले गरेका गल्ती सच्याउने तर्फ पनि अग्रसर नहुने हो भने वर्तमान राजनीतिक दल र व्यवस्थाको पनि विकल्प खोजी हुन्छ । त्यसमा जनतालाई दोष लगाएर आफू पन्छिन खोज्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तै हो । यसतर्फ राजनीतिक दलहरू सचेत हुन आवश्यक छ । – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here