पत्रकारितामा रवि लामिछानेले थपेको चुनौती !

829

– निमकान्त पाण्डे

१२ दिन प्रहरी हिरासतमा बसेर बाहिरिए रवि लामिछाने

जनताले देखाएको सदभाव, चासो र चिन्ताले व्यक्तिगत रूपमा उनले गरेको कर्मलाई मात्र नभएर अझै पनि पत्रकारिताप्रति जनताको भरोसा बाँकी रहेको पुष्टि गरेको छ ।

हालै टेलिभिजन प्रस्तोता एवं चर्चित पत्रकार रवि लामिछाने अर्का पत्रकार शालिककारम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा १२ दिन प्रहरी हिरासतमा बसेर बाहिरिएका छन् । अदालतले पाँचलाख धरौटीमा छोड्न आदेश दिएपछि उनी हिरासतबाट मुक्त भएका हुन् । उनी हिरासतमा हुँदै उनीप्रति आम जनताले देखाएको सदभाव, चासो र चिन्ताले व्यक्तिगत रूपमा उनले गरेको कर्मलाई मात्र नभएर अझै पनि पत्रकारिताप्रति जनताको भरोसा बाँकी रहेको पुष्टि गरेको छ ।

पछिल्लो समय पत्रकारिताको विश्वसनीयताप्रति धेरै तर्फबाट प्रश्न र चासो व्यक्त भइरहेका बेला पूर्व सहकर्मीलाई आत्महत्याका लागि बाध्य पारेको गम्भीर आरोप लागेर प्रहरी हिरासतमा बस्दा समेत उनको समर्थनमा देश र विदेशबाट जनसमर्थन र जनलहर देखिनु भनेको रविको व्यक्तित्व एक ठाउँमा होला, मुल कुरा उनले पत्रकारिता कर्मबाट गरेको प्रशंसनीय कामकै प्रतिफल हो । यसले जनताको चासो र सरोकारका विषय उठान गर्ने पत्रकार र त्यस किसिमको पत्रकारिता कर्मको अझै लामो समय सम्मान र भविष्य छ भनेर पनि यो घटनाले पुष्टि गरेको छ । रविको लोकप्रियतामा कसैले डाह गरेर हुँदैन , यदि चाहना यस्तै हो भने कामको ट्रेन्डलाई परिवर्तन गर्नु जरुरी छ ।

विगतदेखिको पत्रकारिताका अभ्यासलाई हेर्ने हो भने मुलत पत्रकारिता दुई पक्षबाट प्रभावित वा निर्देशित देखिन्छ । पहिलो राज्यसत्ताको चरित्र र दोस्रो अन्य समुहको स्वार्थले मिडियालाई प्रभावित पारिरहेको हुन्छ । सामान्यतः पत्रकारितालाई समाजको ऐना पनि भनिन्छ । राज्यका प्रमुख अंगहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई खबरदारी गर्ने हिसाबले यसलाई राज्यको चौथो अंगका रूपमा पनि हेर्ने गरिन्छ । कतिपयले यसलाई आवाजबिहीनहरूको आवाज वा जनताको आवाज बोल्ने माध्यमका रूपमा पनि अथ्र्याउने गर्छन् । पछिल्लो समय नेपालको पत्रकारिताले यी तीनवटै तर्कलाई गलत सावित गर्दै गइरहेको छ । अहिले पत्रकारिताले समाजको प्रतिविम्ब गर्दैन । समाजमा एउटा कुरा भइरहेको हुन्छ तर पत्रकारिताले त्यसलाई आफू अनुकुल देखाइरहेको छ । राज्यका तीनवटै अंगलाई खबरदारी गर्ने होइन बरु उनीहरूको स्वार्थ अनुसार सञ्चालन हुने माध्यम पत्रकारिता बनिरहेको छ ।

त्यसैगरी अहिले पत्रकारिताले आवाजबिहीन र जनताको आवाज होइन, हुनेखाने, आफ्नै बोली बिक्ने र पहुँचवालाको मात्र आवाज बोल्ने गरेको पाइन्छ । यो आजको यथार्थ हो । राज्यसत्ताको कामकारबाहीबाट निराश र असन्तुष्ट बनेका जनता मिडियामार्फत सत्यतथ्य बाहिर आओस भन्ने चाहन्छन् । परन्तु मिडियालाई जनताको अपेक्षासँग सरोकार भएको पाइँदैन । मिडिया सञ्चालक र पत्रकारिता कर्म गर्ने दुवै अहिले यसलाई कसरी बढी भन्दा बढी आम्दानीको माध्यम बनाउने र त्यसका लागि पेशाको दुरूपयोग गर्ने भन्ने ध्याउन्नमै रहेका हुन्छन् । यो समस्या पछिल्लो समय पत्रकारितामा निकै विकराल बन्दै गइरहेको छ । व्यक्तिगत स्वार्थका लागि पेशागत मर्यादालाई पनि बिर्सने र स्वार्थ मिलेको खण्डमा कालोलाई सेतो र सेतोलाई कालो पनि भन्न पछि नपर्ने प्रवृत्ति पत्रकारितामा हाबी हुँदै जाँदा आम जनतामा यस पेशाप्रतिको विश्वास घट्दै गएको हो । तथापि कतिपयले इमान्दारीतापूर्वक पेशागत जिम्मेवारी बहन गर्दा अझै पनि विश्वास छ भन्ने कुरा रवि लामिछानेप्रतिको जनताको सहानुभूतिले पुष्टि गर्छ । आफूलाई ठूला र कर्पाेरेट मिडिया दाबी गर्नेहरू निष्प्रभावी बन्दै गइरहेका बेला रवि लामिछानेले सञ्चालन गर्ने सिधा कुरा जनतासँग भन्ने टेलिभिजन कार्यक्रमले एउटा नयाँ उचाई प्राप्त गरेको मात्र नभई देश भित्र र देश बाहिरका जनताको विश्वास पनि जित्न सफल भएको कुरा उनीप्रतिको सदभाव र समर्थनले पुष्टि गरेको छ ।

स्वदेशमा रोजगारी नपाएपछि विदेशिन बाध्य देशका नागरिकले विदेशमा दुःख कष्ट भोग्दा समेत सरकार मौन रहेका बेला रविले कतिपयका पीडामा पत्रकारिताको माध्यमबाट मलहम लगाउन खोजेको प्रयास र स्वदेशमै पनि अन्यायमा परेकाहरूको आवाज बोलिदिने माध्यम बनेकैले उनीप्रतिको यस्तो विश्वास बढेको हो । जबकी यो काम स्रोत र साधनले सम्पन्न राज्यले गर्नुपर्ने थियो । राज्यको निरीहताकाबीच उनले गरेको सानो कामले पनि जनतामा ठूलो आशा र भरोसा जगाएको रहेछ भन्ने कुरा अहिले पुष्टि भएको छ । कुनै बेला धान चामल निर्यात गर्ने हाम्रो देश अहिले युवा निर्यात गर्ने मुलुकका रूपमा चिनिन थालेको छ , युवाहरूलाई स्वदेशमा राख्न नसक्ने हाम्रो विडम्बनाको प्रतिफल दैनिक बन्द बाकसमा निर्जिव वस्तुका रूपमा विदेशबाट आयात गरिरहनु परेको छ । युवाहरू लाशमार्फत प्राप्त गर्दा सरकार सञ्चालकहरूमा रत्तिभर पनि पश्चाताप देखिदैन । सरकारले योजना बनाएर युवाहरूको विदेश पलायन हुनुपर्ने बाध्यतालाई रोक्न सक्ने हो भने वैदेशिक रोजगारीमा पुगेर बिचल्लीमा पर्नेहरूका पीडालाई नै पत्रकारिताको मिसन बनाएका लामिछानेको यो मिसन त्यसै समाप्त हुनेछ ।

अहिले रविका पक्षमा जे जसरी जनताको स्वतस्फूर्त समर्थन र जनलहर जुटेको छ, सरकारले जनताको पक्षमा काम गरेर विश्वास जुटाउन सकेको भए यो जनलहर निश्चय पनि राजनीतिक नेतृत्वको पक्षमा जुटने जनलहर हो । भारतीय नाकाबन्दीका विरुद्ध अडान लिँदा प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा देखिएको जनलहर पनि यस्तै नै थियो । तर शक्तिशाली सरकारको नेतृत्व गर्दै गर्दा प्रधानमन्त्री ओलीले जनअपेक्षालाई सम्बोधन गर्न नसकेर जनतामा निराशा पैदा गराइएको छ । त्यसै कारणले प्रधानमन्त्रीले पाउनुपर्ने त्यो जनलहर एउटा टेलिभिजन प्रस्तोतालाई आफ्नो रोलमोडल मान्न बाध्य बनिरहेका छन् जनता । राज्य सत्ताले गर्न सक्ने काम एउटा पत्रकारले गर्न सक्दैन, तर पत्रकारले जगाएको आशाका कारण आज जनताले राज्यलाई भन्दा एउटा पत्रकारलाई विश्वास गर्ने र भरोसा गर्ने अवस्था सृजना भएको छ ।

रवि लामिछानेलाई जुन अभियोगमा हिराशतमा राख्ने र अनुशन्धान गर्ने काम भयो, त्यसबारे यो पंक्तिकारले प्रारम्भदेखि नै प्रश्न उठाउँदै आएको हो । आत्महत्या ठहर हुन नसक्ने तमाम आधारहरू हुँदाहुँदै हत्यातर्फको अनुशन्धानलाई प्रहरीले महत्व नदिएपछि घटना रहस्यमय बन्न पुगेको छ । चितवन जिल्ला अदालतले गरेको प्रारम्भिक आदेशमै पनि आत्महत्याको दाबीमाथि प्रश्न उठाइएको छ । प्रहरीले प्रस्तुत गरेका कैयौँ प्रमाण र तथ्यमाथि अदालतले प्रश्न उठाएको कारणबाट पनि प्रहरीको अनुशन्धान शंकास्पद बन्न पुगेको स्पष्ट हुन्छ । भिडियो बनाउँदाको समय र आत्महत्या भनिएको समयलाई लिएर अदालतले प्रश्न उठाएको छ । त्यस्तै अन्य कैयौ प्रश्न अदालतले प्रहरीको अनुसन्धानमाथि उठाएको देखिन्छ । यसले हतार हतारमा रवि लामिछानेलाई पक्राउ गर्ने निर्णय सुनियोजित देखिन्छ । अदालतमा विचाराधीन यो विषय विस्तारै पुष्टि पनि हुँदै जाला । तथापी पत्रकारिताको माध्यमबाट एउटा बलियो प्रभाव बनाउँदै गएका रवीलाई कमजोर बनाउनका लागि यसबीचमा धेरै पक्षले यो घटनामा आफ्नो स्वार्थ जुधाउन खोजेको भने प्रष्ट भएको छ ।

व्यवस्था परिवर्तनसँगै जनताको भावनालाई थप सम्बोधन गर्ने प्रतिवद्धता जनाएका राजनीतिक दलहरूले जन अपेक्षाअनुसार काम गर्न नसकिरहेका बेला जनताको आवाज बोल्छौँ भन्ने मिडिया जगतले समेत आफ्नो दायित्व पुरा गर्न सकिरहेका छैनन् । यस्तो बेला रवी लामिछानेप्रतिको जनविश्वासले पत्रकारिता क्षेत्रलाई पनि सोच्न बाध्य बनाएको छ । विशेष गरी अर्बाैँ लगानीमा सञ्चालनमा आएका कर्पोरेट मिडियाहरूले आफूलाई जनताको पक्षमा कसरी लैजाने भन्ने चूनौती पनि लामिछानेले सृजना गरिदिएका छन् ।

कुनै समय थियो नेपालमा मिसन पत्रकारिताको । मिसन पत्रकारिताको लहरले तत्कालीन राज्य व्यवस्थालाई नै चूनौती सृजना गरिदिएको थियो । त्यतिबेलाको मिसन पत्रकारिताकै देन हो प्रजातन्त्रको पुनस्र्थापना । प्रजातन्त्र हुँदै अहिलेको गणतान्त्रिक व्यवस्थासम्मको यात्रामा मिसन पत्रकारिताको महत्वपूर्ण योगदान रहेको छ । त्यहाँ व्यक्तिगत स्वार्थ भन्दा मुलुक, जनता र व्यवस्थाप्रतिको जिम्मेवारी बढि देखिन्थ्यो । भलै अहिले ती मिसन पत्रिकाहरू अस्तित्व संकटबाट गुज्रिरहेका छन् वा अस्तित्व नै गुमाइसकेका छन् । तर आज पत्रकारिता व्यापार र ठेक्कापट्टा गर्ने माध्यम बन्दै गइरहेको छ । पत्रकार वा साहुजीले सत्तासँग बार्गेनिङ गर्ने टुल्सका रूपमा पत्रकारिताको दुरूपयोग गरिरहेका छन् । जसले गर्दा हिजोका मिसन पत्रकारिता गर्ने पत्रिकाको तुलनामा आज अर्बाैँ लगानीका मिडियाले पनि जनताको मन जित्न सकिरहेका छैनन् । बरु उल्टै बदनामी कमाउँदै र पत्रकारिताप्रति जनतामा अविश्वास जगाउने काम गर्दै आएका छन् । हालै रवि लामिछानेको पक्षमा देखिएको जन समर्थनले पत्रकार पनि जनताबाट यति धेरै विश्वासिलो व्यक्ति बन्न सक्दो रहेछ भन्ने सन्देश प्रवाह गरेको छ ।

ठूला भनिएका मिडियालाई पनि सच्चिन र जनताको आवाज मुखरित गर्न यो घटनाले प्रेरित गरेकै हुनुपर्छ । यसले अर्काे सन्देश के पनि दिएको छ भने जनताको भावना र मिडियाको बहावमा अब पनि सामन्जस्यता अपनाउने हो भने आफूलाई ठूला दाबी गर्ने मिडियाको अवस्था पनि बेहाल हुने र समाजले पत्रकारिता जगतलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै जाने निश्चित छ । यसतर्फ समग्र मिडिया जगतले सोच्न आवश्यक छ । प्रत्येक व्यक्तिका हातहातमा समाचार सम्प्रेषण गर्ने संयन्त्रका रूपमा मोबाइल र कम्प्युटर पुगिसकेको अहिलेको युगमा आम नागरिकले पत्रकारकै जत्तिको योग्यता र क्षमता बनाएका छन् भन्ने कुरा सबै पत्रकारहरूले बुझ्न जरुरी छ । जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here