बेल्जियमको शहरबाट सामाजिक सञ्जालको प्रयोग गर्न पाउँदा

200

– राज्यलक्ष्मी शाक्य

म अहिले यी पंक्तिहरू लेखिरहँदा बेल्जियमको ब्रसेल्समा आइपुगेकी छु । नेपालबाट यति टाढाको मुलुकमा आइपुग्दा पनि नेपालका बारेमा जानकारी लिन मलाई कुनै कठिनाइ भइरहेको छैन । जर्मनी हुँदै बेल्जियम आइपुगेर पोर्चुगलसम्म घुमेर आफ्नै देशमा फर्किने योजना बनाइएको छ । पारिवारिक भ्रमणको रमाइलो महसुस भइरहे पनि आफ्नो देशभित्र भइरहेका गतिविधिबारे जानकारी पाउन अत्यन्त सहज बनिरहेको सामाजिक सञ्जालप्रतिको मोह झनै बढेर गएको महसुस गरेकी छु ।

नेपालमा सामाजिक सञ्जालहरूको प्रयोग र प्रभाव बढ्दै गएको देख्न सकिन्छ । अहिले प्रायजसो सबैको पहुँचमा रहेको सामाजिक सञ्जाल कति लोकप्रिय भइरहेको छ र यसको उपयोगिता कति महत्वपूर्ण भइरहेको छ भन्ने कुरा सबैले बुझ्नु जरुरी छ । हरेकको हातहातमा मोबाइल छन् । इन्टरनेटको बढ्दो पहुँचसँगै सामाजिक सञ्जालका उपयोगकर्ता बढिरहेका छन् । मानिस स्वभावैले सामाजिक प्राणी भएकाले पनि होला सामाजिक सञ्जालको प्रयोग बढ्दै गएको बुझ्न सकिन्छ । हालै मात्र नेपालमै पहिलो पटक सामाजिक सञ्जाल मार्फत मन्त्री परिषद्को बैठक समेत बस्यो । यो बैठक पनि विवादमा भने आइरहेको छ । गोपनियताको दृष्टिकोणले यसको दुरूपयोग भएको निष्कर्ष पनि निकालिएको छ । सामाजिक सञ्जालको दुरूपयोग आम सर्वसाधारणबाट मात्र नभएर प्रधानमन्त्रीबाटै समेत हुने रहेछ भन्ने यो घटना उदाहरण बनेको छ । उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कल मार्फत मन्त्री परिषद्को बैठकमा सहभागिता जनाएपछि सामाजिक सञ्जालको दुरूपयोग भएको ठानिएको छ । आम सर्वसाधारणलाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने सोच बनाइरहेको सरकारबाटै सञ्जालको दुरूपयोग भएको आरोप लाग्न पुगेको छ ।

पछिल्लो समय सामाजिक सञ्जाल मानिसको घरपरिवार भन्दा नजिकको साथी बन्न पुगेको छ । एक्लोपनलाई महसुस हुन दिइरहेको छैन । कुनैबेला आफ्ना टाढा रहेका आफन्तजनसंग कुरा गर्न घण्टौ समय र पैसा खर्च गरेर पत्र पठाउने र फोनबाट कुरा गर्ने गर्दथे भने सामाजिक सञ्जालमार्फत क्षणभरमै विश्वका कुनै पनि कुनामा रहेका आफन्त तथा मित्रजनसंग नजिकै बसेर कुरा गरे सरह भिडियो तथा अडियोबाट कुरा गर्न सकिने भएको छ । पहिले–पहिले सामाजिक सञ्जालको प्रारम्भ हुँदा यसको प्रयोगले मानिसहरू निकै हर्षित हुन्थे, तर वर्तमान अवस्थामा आइपुग्दा सामाजिक सञ्जालको बढ्दो प्रयोगले विकृति पनि निम्त्याउँदै गएको छ भन्दा फरक नपर्ला । दिनप्रतिदिन सामाजिक सञ्जालको प्रयोग गरेर अपराधका घटनाहरू पनि घट्दै गएका छन् ।

विश्वमा सामाजिक सञ्जालको इतिहास यत्ति नै भनेर भन्न नसकिएपनि नेपालमा भने सामाजिक सञ्जालको प्रयोग भएको धेरै भएको छैन । तर नेपालमा यसको प्रयोग भित्रिएसंगै यसले नेपाली समाजमा आश्चर्यजनक फड्को मारेको अवस्था भने विद्यमान छ । सामाजिक सञ्जाल र इन्टरनेटका माध्यमबाट नेपालमै मानिसले धेरै काम अनलाइनबाटै गर्ने गरेको पाइन्छ । अहिले त अनलाइनबाटै पत्रपत्रिका पढ्ने, आफूलाई मन लागेका वस्तुहरू अनलाइनबाट सपिङ गर्ने प्रवृति समेत बढ्दै गएको छ । हामी सामाजिक सञ्जालमा देख्न सक्छौं विभिन्न किसिमका सामानहरू सामाजिक सञ्जालमार्फत बिक्रिवितरण गरिरहेका पाइन्छन् । सरकारको गतिविधि समेत सामाजिक सञ्जालबाटै हेर्न सक्ने व्यवस्था छ । हामीकहाँ अनलाइन सपिङ, सरकारी कार्यालयमा अनलाइन सेवा, अनलाइनबाटै बिल भुक्तानी लगायतका अन्य धेरै कुराहरूको सफल अभ्यास र सञ्चालन भइरहेको अवस्था छ । तर, यसले गर्दा समाजमा धेरै समस्या समेत उत्पन्न भएका छन् । समाजमा सामाजिक सञ्जालको प्रयोगबाट अपराध तथा ठगी समेत बढ्दै गएको छ । सामाजिक सञ्जालमा सञ्चारमाध्यमको बढ्दो अराजकताले सामाजिक सञ्जालमा आउने समाचारप्रति जनताको विश्वास पनि हराउँदै गएको अवस्था छ । यो अवश्य पनि दुःखद पक्ष हो । यसलाई अनुशासित बनाउन पनि जरुरी छ ।

संसदमै समेत सामाजिक सञ्जालबाट भएका अपराधिक गतिविधि तथा ठगीबारे चर्चा हुन थालेको छ । संसदबाट सामाजिक सञ्जालको दुरूपयोग बढेकाबारे सरकारको ध्यानाकर्षण समेत गराइएको छ । गत सोमबार प्रतिनिधिसभाको बैठकमा सतारुढ दल नेकपाका सांसद शान्ता चौधरीले सामाजिक सञ्जालको दुरूपयोग गर्नेहरू बढेको भन्दै दुरूपयोग रोक्न नियमन, नियन्त्रण र कारबाही आवश्यक रहेको भन्दै आवाज उठाएकी थिइन् । तर सरकारबाटै भइरहेको यसको दुरूपयोग रोक्ने कसले ? अर्थात मुलुक बाहिर पुगेर पनि सामाजिक सञ्जालको प्रयोग गर्न सकिने अवस्थाबाट रोक्ने कसरी ? त्यसैले रोक्नेतर्फ भन्दा पनि अनुशासित ढङ्गले यसको सदुपयोग गर्ने र गराउनेतर्फ केही अभियान थालनी गर्नै पर्ला जस्तो लाग्छ ।    -rajyalaxmishakya@gmail.com-जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here