काठमाडौं / करिव तीन महिनापछि नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि कराँतेबाट ३२ खेलाडी छनोट भएका छन् । नेपाल कराँते महासंघले साउन पहिलो सातादेखि विशेष प्रशिक्षणमा रहेका १ सय ८ खेलाडीले छनोट प्रतिस्पर्धामा भाग लिएका थिए । कातामा दुई वैकल्पिकसहित १२ खेलाडी तथा फाइटमा २२ खेलाडी छनोट भएका छन् । एकल कातामा महिला र पुरुषमा समान १–१ तथा टिम कातामा महिला र पुरुषमा समान ३–३ खेलाडी छनोट भएका छन् । फाइटमा महिलामा १० र पुरुषमा १२ खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भए ।
एकल काता पुरुषतर्फ आठौं राष्ट्रिय खेलकुदका स्वर्णपदक विजेता मन्डेकाजी श्रेष्ठ र महिला एकल कातामा आठौंकै स्वर्णधारी चञ्चला दनुवार स्वदेशमा तीन महिनापछि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । मन्डे टिम कातामा पनि छनोट भए । टिम कातामा मन्डेसहित प्रवीण मानन्धर र मल्भुस तामाङ छनोट भए । वैकल्पिकमा विनोद गुरुङ रहेका छन् ।
चञ्चला महिला एकल काताका लागि छनोट भएकी हुन् । दुवैले पहिलोपटक सागमा खेल्ने मौका पाएका हुन् । मन्डे र चञ्चला बंगलादेशमा भएको ११औं सागमा राष्ट्रिय टोलीमा रहेर पनि खेल्न पाएका थिएनन् । आयोजकले १० खेलाडी मात्रै राख्नुपर्ने भनेपछि मन्डेसहित ५ खेलाडी प्रतियोगिता नै नखेली स्वदेश फर्किएका थिए । १५ सदस्यीय कराँते टोलीमा उनीहरू टिम कातामा छनोट भएका थिए । स्वदेश फर्कनेमा मन्डेकाजी श्रेष्ठ, चञ्चला दनुवार, सुमन लामा, निरबहादुर मोक्तान र केदार सिंम्खडा रहेका थिए । महिला टिम कातामा निर्मला तामाङ, संगिता मगर र सरु कार्की छनोट भइन् । कापिला विष्ट वैकल्पिक खेलाडीमा रहेकी छन् ।
बिहीबार भएको छनोटमा मन्डेले पर्शुराम बास्तोलालाई १ अंकले पछि पारेका हुन् । मन्डले ३९ अंक प्राप्त गर्दा पर्शुरामले ३८ अंक पाएका थिए । टिम कातामा पनि मन्डेले स्वर्ण हात पार्दै दुई विधामा छनोट हुन सफल भए । भाग्यसँग ठगिँदै आएकी आठौंकी स्वर्णधारी चञ्चलाले सुभद्रा श्रेष्ठलाई पछि पार्दै १३ औं सागका लागि स्थान सुरक्षित गरिन् । उनी २०१४ मा भएको इन्चोन एसियाडमा छनोट भएर पनि खेल्न बाट वञ्चित बनेकी थिइन् । गत वर्षको जाकार्ता एसियाडमा उनी पदकको लागि भएको खेलमा चुकेकी थिइन् ।
फाइटतर्फ पुरुष ५० केजीमा सोनाम लामाले शिव खत्रीलाई तथा ५५ केजीमा लक्ष्मण तामाङले विजय श्रेष्ठलाई पराजित गर्दै राष्ट्रिय टोलीमा स्थान बनाए । ६० केजीमा राजीव पुडासैनीले स्वर्ण तथा राजकुमार रसाइलीले रजत जितेका थिए । ६७ केजीमा नवीन रसाइली पहिलो तथा अर्जुन बाघचन्द्र दोस्रो भए । ७५ केजीमा गंगाराम कुसवार पहिलो तथा मुकुन्द महर्जन दोस्रो भए । ८४ केजीमुनि दिवस श्रेष्ठले स्वर्ण तथा सुशील पौड्यालले रजत जित्दै १३औं सागलाई छनोट भए । ८४ केजीमाथि विप्लवलाल श्रेष्ठले स्वर्ण तथा लेखराज मैनालीले रजत जिते ।
महिला फाइटको ४५ केजीमा कुसुम खड्काले मीरा योन्जनलाई तथा ५० केजीमा अनु अधिकारीले मिस्ली श्रेष्ठलाई पछि पार्दै राष्ट्रिय टोलीमा स्थान बनाइन् । ५५ केजीमा मनिषा चौधरीले स्वर्ण तथा सुस्मिता वाइवाले रजत जितिन् । ६१ केजीमा अनु गुरुङले स्वर्ण तथा एस्तर राईले रजत जितिन् । ६८ केजीमा सुनता महर्जनले स्वर्ण तथा सनि तामाङले रजत जितिन् । ६८ केजीमाथि अनुपमा मगरले स्वर्ण तथा रिता कार्कीले रजत जित्दै राष्ट्रिय टोलीमा स्थान बनाइन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षण एकसातापछि हुने प्रशिक्षक कुशल श्रेष्ठले जानकारी गराए ।

















