काठमाडौं / समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपालका कम्युनिष्टहरूले बहुजातीय देशमा सङ्घीयता सम्बन्धी कार्ल मार्क्सको धारणालाई खतराको घण्टी ठानेर लुकाएको जनाए ।
उनले उक्त कुरा यहि मङ्गलवार काठमाडौँको अनामनगरमा नेपाली समाजको प्रगतिशील रूपान्तरणको सन्दर्भमा भएको एक अन्तरक्रिया कार्यक्रममा जनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले नेपालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र केही जातीय पार्टीहरूले कार्ल मार्क्सले वर्गीय मुक्तिको कुरा मात्र उठाएको भ्रम छरेको जनाउँदै भने, ‘बेलायतमा अङ्ग्रेजहरूद्वारा आइरिसहरूमाथि दमन हुँदा बेलायत जस्तो बहुजातीय देशमा सङ्घीय शासनको आवश्यकताबारे सन् १८६७ मा त्यहाँका श्रमजीवीहरूलाई लेखेको पत्र र लेखहरूमा उल्लेख गरेको छ । मार्क्सले जातीय हिंसा भइरहे आइरिसहरूको आत्मनिर्णयको अधिकारको सम्मान गरी तिनिहरूलाई स्वतन्त्रता दिनुपर्ने र त्यसपछि सङ्घीयतामा बाँडिनुपर्ने कुरा समेत उठाएका थिए ।’
सङ्घीयताविद्को रूपमा समेत परिचित विचारक नेता श्रेष्ठले आफूहरू एमालेको नेतृत्वमा रहेको बेला बहुजातीय देशमा मार्क्सको यहि धारणा विश्वका कम्युनिष्टहरूले अबलम्बन गरेको सन्दर्भ उठाएको जनाए । उनले नेपाल पनि बहुुजातीय भएकाले पहिचानसहितको सङ्घीयताको विकल्प नभएको कुरा उठाएपछि नेताहरू नाजवाफ भएको र पहिचानयुक्त १५ प्रदेश सहितको अवधारणा पारित गरी पहिलो संविधानसभामा समेत पठाएकोमा एमाले नेताहरूले त्यसलाई पारित नगरी जालसाजी गरेको र जनतालाई धोका दिएको जनाए। उनले नेकपा नक्कली कम्युनिष्ट भएको आरोप लगाए ।


















