संसदमा एसिड प्रहारको घटना ! मृत्युदण्ड दिन सांसदहरुको माग

111

काठमाडौं / संसदमा संसदमा एसिड प्रहारको घटनाले चर्चा पाएको छ । देशमा पछिल्लो पटक किशोरीहरुमाथि एसिड प्रहार गर्ने घटना भएपछि सदनमा सरकारको ध्यानाकर्षण गराउँदै यो घटनाबारे छलफल सुरु भएको हो । सांसदहरुले मृत्युदण्ड दिन माग गरेका छन् ।

भदौ २० गते शुक्रबार बिहान विद्यालय जादै गर्दा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो । उनको अहिले काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा समय लिएर बोल्दै सांसद जुली कुमारी महतोले एसिड आक्रमणका घटना नियन्त्रण गरी महिलाको सुरक्षाका लागि कडा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

बैठकको शून्य समयमा बोल्दै सांसदहरुले एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुनको निशुल्क उपचारको व्यवस्था गरी दोषीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद महतोले महिलाको सुरक्षाका लागि थप संवेदनशील बन्दै दोषीलाई पक्राउ गरि कडा कारवाही गर्न पनि माग गरेकी छिन् । सांसद महतोका अनुसार महिलाको सुरक्षाको लागि कडा कानुन ल्याउन आवश्यक छ । प्रदेश २ मा छोरीमाथि एसिड आक्रमणका घटना धेरै पटक भएकाले रोक्न कडा कदम चाल्नुपर्ने जरुरी छ । प्रदेश २ को सरकारले बेटी पढाउ बेटी जोगाउ अभियान जोडतोडले लागू गरेको छ । बेटी नै बाँचेनन् भने वेटी जोगाउ अभियानको औचित्य हुने छैन ।

संघीय सांसद प्रदिप यादवले दोषीलाई फाँसीको सजाय हुनुपर्ने बताउनु भएको छ । कानुन संशोधन गरेरै भएपनि जन्मकैद वा फाँसीको सजायको व्यवस्था गर्नुपर्ने उहाँको तर्क रहेको छ । कानुन संशोधनका लागि आफूले संसदमा आवाज उठाउने उहाँले जिकिर गर्नुभयो ।

सांसद नरमाया ढकालले एसिड आक्रमणको घटनाको भत्र्सना गर्दै दोषीलाई नियन्त्रणमा लिई तत्काल कानुनी कारवाही गर्न माग गरिन् । खातुनको सम्पुर्ण उपचार खर्च व्यहोर्दै दोषीलाई कडा कारवाही गर्न सांसद पार्वता डिसी चौधरीले सरकारको ध्यानाकर्षण गराइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here