काठमाडौं / नेपालीमा एउटा उखान छ जब मानिसमा लाज र डर भन्ने कुरा हराउँछ, त्यसपछि ऊ जतिसुकै लाचार हुन पनि पछि पर्दैन । अहिले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हकमा पनि त्यस्तै हुँदै गइरहेको छ ।
आफैले गरेका पूर्वप्रतिबद्धतालाई बिर्सिएर हजारौँको बलिदानीपूर्ण संघर्षको इतिहासको नामोनिसानसमेत नरहने गरी पार्टी बिसर्जन गरेर पुँजीवादी जीवनशैली अपनाएका उनले आफ्नै जीवनशैलीलाई गिज्याउने गरी एकपछि अर्काे निर्णय गर्न थालेका छन् । विवादित व्यापारीहरुसँगको संगत र उठबस त उनका लागि दिनचर्याजस्तै सामान्य विषय भन्दै गइरहेका थिए । पछिल्लो पटक सरकारी आयोजना निर्माणको ठेक्का लिएर समयमै पूरा नगर्ने आरोप खेपिरहेका शारदा प्रसाद अधिकारीको घरमा बस्ने गरेका उनले अहिले मेलम्चीको ठेक्कासमेत उनैलाई पारिदिएका छन् ।
दाहालकै बुहारी बिना मगर खानेपानी मन्त्री भएको लामो समयसम्म पनि अन्तिम चरणमा पुगेको मेलम्ची अवरोध भइरहेका बेला उनै दाहालको सिफारिसमा बदनाम ठेकेदार अधिकारीलाई मेलम्चीको पाइपलाईन विस्तार र ओभरहेड ट्यांकी निर्माणको जिम्मा दिइनुले मेलम्चीबाट पानी आउने आशा अब हराएको छ । ठेकेदार अधिकारीले जिम्मा लिएका सडकहरु वर्षाैँसम्म पनि निर्माण नगर्दा काठमाडौ उपत्यकालगायतका ठाउँमा आम नागरिकले सास्ती व्योहोर्दै आइरहेका छन् । ठेकेदार अधिकारी भने दाहालकै आडमा आफूलाई कारबाही हुन र कालोसूचीमा पर्नबाट बच्दै आइरहेका छन् ।
सबैतर्फ आलोचित र बदनामी कमाइरहेका व्यवसायीको घरमा बसेर आलोचित बनेका दाहालले उनै अधिकारीलाई काखी च्याप्दै कारबाही हुनबाट रोक्ने र नयाँ नयाँ अवसर दिनुले दाहालले विगतमा भ्रष्ट, सामन्त, पुँजीपति र दलालहरुप्रति गर्ने गरेको विरोधको नै उपहास भइरहेको छ । आम जनताको हक हितको लागि जीवनको अन्त्यसम्म लड्ने प्रतिबद्धता जनाएका दाहालमा पछिल्लो समय पूँजीपतिवर्ग र दलालहरुसँगको निकटताले उनीसँग अब लाज, डर र नैतिकता भन्ने कुरा बाँकी छैन भन्ने टिकाटिप्पणी राजनीतिकवृत्तमा सुन्न थालिएको छ ।–जनधारणा साप्ताहिक

















