नेपाली कार्गोलाई बिमा शुल्कमा सहुलियत

199

काठमाडौं । कोलकाता बन्दरगाहस्थित भारतीय भन्सार कार्यालयले नेपाली कार्गोको राजस्व बिमामा ८४.३३ प्रतिशत सहुलियत दिएको छ। भारतको बाटो ल्याइने मालवस्तुको राजस्व जोखिम बराबर ‘ड्युटी इन्स्योरेन्स’ (राजस्व बिमा) त्यहाँ गराउनुपर्ने प्रावधान छ। त्यही बिमा शुल्कमा नेपालले सहुलियत पाएको हो। नेपाली आयातकर्ता र अन्य सरोकारवालाले यसलाई तेस्रो मुलकसँगको व्यापारको हकमा महत्वपूर्ण भनेका छन्।

‘लामो समयको पहल र विभिन्न चरणको छलफलपछि यो सफलता प्राप्त भएको हो,’ कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले नागरिकसँग भने, ‘यसको लागि भारतीय भन्सार र पहलमा साथ दिने सबैलाई हामीले धन्यवाद दिनुपर्छ।’

यसअघि बिमांक रकमको प्रतिसय भारतीय रुपैयाँ बराबर ३० पैसा बिमा शुल्क लाग्ने गरेको थियो। अब ३० पैसाको ठाउँमा पाँच पैसामात्र लाग्नेछ। कोलकाता भन्सारको यो निर्णयले नेपाली कार्गोमा बिमाको खर्च घट्ने आयातकर्ताले बताएका छन् ।

‘हामीले यो बिमासम्बन्धी गरिएको पछिल्लो निर्णयको स्वागत गर्नुपर्छ, नेपालको हकमा यसले लाभ प्राप्त हुनेछ,’ आयातकर्ता समेत रहेका वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडियाले भने, ‘केही मात्रामा भए पनि यसले व्यापार लागतमा कमी आउँछ।’ कोलकाता कस्टम हाउस एजेन्ट एसोसिएसनको नेपाल, भुटान समितिका अध्यक्ष रहिसकेका कार्यकारी सदस्य अमृतभक्त श्रेष्ठले पनि नेपाललाई यसबाट फाइदा पुग्ने जनाएको समाचार आजको नागरिक दैनिकमा रितेश त्रिपाठीले लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here