नेपाली सेनाको जनसम्पर्क गोष्ठी सम्पन्‍न

198

काठमाडौं / श्री जनसम्पर्क तथा सूचना निर्देशनालयले जंगी अड्‍डामा वरिष्ठ पत्रकारहरु तथा नेपाली सेनाका अधिकृतहरुको उपस्थितीमा मंगलबार एक दिने जनसम्पर्क गोष्ठी आयोजना गरेको थियो ।

गोष्ठीमा स्वागत मन्तव्य राख्‍नु हुँदै जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी बिज्ञान देव पाण्डेले नेपाली सेना र संचार जगतका बीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा संचारकर्मीहरुबाट राय सुझावहरु प्राप्त गर्ने उद्देश्यका साथ उक्त गोष्ठी संचालन भएको जानकारी दिनुभएको थियो ।

उहाँले नेपाली सेनाको आफ्नो संस्थागत जिम्मेवारी, कार्यहरु तथा चरित्र र आचरणका बारेमा सदा पारदर्शिता रहेको साथै भविष्यमा अझ बढी खुल्ला र पारदर्शी रुपमा स्थापित हुन तयार रहेको समेत जनाउनुभएको थियो । आगामी दिनहरुमा पनि संचारकर्मीहरुबाट निरन्तर रुपमा रचनात्मक सल्लाह र सुझाव प्राप्त हुनेमा उहाँले विश्‍वास व्यक्त गर्नु भएको थियो ।

उक्त गोष्ठीमा घटना र विचार साप्ताहिकका सम्पादक बबिता बस्नेत, रिपब्लिका दैनिकका प्रमुख संवाददाता कोषराज कोईराला, अन्नपूर्ण पोस्ट् अनलाईनका सम्पादक विष्णु सुवेदीलगायत वरिष्ठ संचारकर्मीहरुले प्रस्तुतिकरण गर्नु भएको थियो ।

गोष्ठीको समापनमा पूर्व रक्षा सचिव आत्माराम पाण्डेले विभिन्‍न मिडियाका वरिष्ठ संचारकर्मीहरुले गर्नु भएको प्रस्तुतिकरण तथा अन्तरक्रियाको बारेमा समिक्षात्मक विश्‍लेषण गर्नु भएको थियो । उक्त गोष्ठीमा पूर्व रक्षा सचिव आत्माराम पाण्डे, विभिन्‍न मिडियाका वरिष्ठ पत्रकारहरु, सरकारी मिडियाका रक्षा संवाददाताहरु, नेपाली सेनाको पृतना हे.क्वा.मा कार्यरत जनसम्पर्क अधिकृत तथा विभिन्‍न कार्यालयमा कार्यरत अधिकृतहरुको उपस्थिती रहेको थियो ।

नेपाली सेनाले यस प्रकारको गोष्ठीबाट नेपाली सेना र सञ्‍चारबीचको आपसी सम्पर्क र सम्बन्ध अझ सुदृढ हुने विश्‍वास लिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here