काठमाडौं / विद्युतीय सवारीसाधनको प्रर्वद्धनमा जोड दिइरहेको नेपाल विद्युत् प्राधिकरणले मोफसलका मुख्य शहर र राजमार्गहरुमा चार्जिङ स्टेसन स्थापना गर्ने भएको छ । पहिलो चरणमा काठमाडौंका १५ स्थान साना सवारीको चार्जिङ स्टेसन स्थापनाका लागि छानिएका छन् ।
राजमार्ग र मोफसलका शहरहरुमा गरी कुल ५० वटा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । जसमा ठूला बस पनि चार्ज गर्न सकिनेछ । प्राधिकरणले एक सूचना जारी गर्दै उपत्यका बाहिर शहरका मुख्य भागहरुमा स्टेसन निर्माणका लागि स्थान उपलब्ध गराउन व्यापारिक, कम्प्लेक्स, सिनेमा हल, सुपर मार्केट, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल, अस्पताल लगायतलाई आग्रह गरेको छ । बिशेषगरी सवारीसाधनको धेरै आवतजावत हुने स्थानमा छिटो चार्ज हुने खालको चार्जिङ स्टेसन राख्न लागिएको ऊर्जा दक्षता विभागका सहायक प्रवन्धक सागरमणि ज्ञवालीले जानकारी दिए ।
‘राजमार्गमा चिया खाजा खाने होटलमा पनि चार्जिङ स्टेसन राखिने छ,’ उनले भने, ‘पिसाव फेर्न र एकछिन फ्रेस हुन बस्दा पनि २-३ सय किलोमिटर गुड्ने गरी सवारी चार्ज गर्न सकिन्छ । राजमार्गका विभिन्न ठाउँमा यस्ता चार्जिङ स्टेसन राख्न ठाउँ मागेका हौं ।’
यसले गर्दा ती होटलमा ग्राहक बढ्ने यात्रुले सुविधा पनि पाउने भनिएको छ । यस्ता चार्जिङ स्टेसनमा तीनवटा गाडी एकैपटक चार्ज गर्न सकिने छ । उपयुक्त पार्किङको सुविधा भएका ठाउँलाई चार्जिङ स्टेसनका लागि छनोटमा प्रथमिकता दिइने प्राधिरकणले जनाएको छ ।
कस्ता हुन्छन् चार्जिङ स्टेसन ?
अहिले काठमाडौंमा ६ देखि ७ सय वटा विद्युतीय सवारीसाधन रहेको अनुमान छ । ती सवारीलाई घरमै निकै समय लगाएर चार्ज गरी चलाइन्छ ।
अब भने छिटो चार्ज हुने गरी साना सवारीका लागि प्राधिकरणले उपत्यका, राजमार्गहरु र विभिन्न शहरहरुमा सुविधा दिन लागेको हो । यो सुविधापछि विद्युतीय सवारीको प्रयोगकर्तामा आत्मविश्वास बढ्ने र थप विजुली गाडी प्रयोगमा आउन सुरु हुने विश्वास प्राधिकरणको छ ।
अहिले स्थापना गर्न लागिएको एउटा चार्जिङ स्टेसनमा फरक-फरक पोर्टमा लाग्ने खालका तीनवटा चार्जर हुनेछन् । ती ५०/५० किलोवाटका हुनेछन् । एउटा चार्जिङ स्टेसनमा एकैपटक तीनवटा सवारीले चार्ज गर्न सक्छन् ।
यस्तो चार्जिङ स्टेसनलाई एउटै स्मार्ट कन्ट्रोल सिस्टममा आवद्ध गरिनेछ । कन्ट्रोल सबैलाई रुमबाट सञ्चालन र व्यवस्थापन गर्न सकिने गरी स्टेसन निर्माण हुनेछ ।
सरकारले विहान, बेलुकी दिउँसो र रातका लागि चार्जिङको शुल्क फरक-फरक तोक्ने तयारी गरेको छ । साँझमा चार्ज गर्दा केही महंगो पर्न जान्छ भने रातमा सस्तो हुनेछ ।
यस्ता चार्जिङ स्टेसनमा जाँदा मोबाइल एपबाटै समय बुक गर्न सकिने प्रवन्ध पनि गरिने ज्ञवालीले जनाए । आफूले बुक गरेको समयमा स्टेसन पुगेर चार्ज गराउन सकिनेछ । -रासस


















