१३औँ साग भलिबलमा नेपालको विजय

162

काठमाडौं / आजबाट सुरु १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज  भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३–० को सेटमा हराउन सफल भएको छ ।

नेपालले बंगलादेशमाथि सहज जित निकाल्ने क्रममा पहिलो सेट २५–९ ले आफ्नो पक्षमा पार्‍यो। त्यस्तै दोस्रो सेटमा समेत नेपालले बंगलादेशलाई दोहोरो अंक जोड्न नदिई २५–९ ले नै आफ्नो पक्षमा पार्‍यो। तेस्रो सेटमा भने नेपालले केही संघर्ष गर्नुपर्‍यो। तेस्रो सेटमा नेपालले २५–११ को जित हात पार्‍यो।

नेपाललाई सहज जित दिलाउन प्रतिभा मालीले उत्कृष्ट प्रदर्शन गरिन्। उनको उत्कृष्ट स्पाइक मार्फत नेपालले बंगलादेशलाई दबाबमा राख्न सक्यो। मालीलाई दोस्रो सेटको अन्त्यमा प्रशिक्षक जगदीश भट्टले विश्राम दिएका थिए। भट्टले मालीको ठाउँमा उषा भण्डारीलाई कोर्ट प्रवेश गराएका थिए। तर लगत्तै तेस्रो सेटमा पुनः प्रशिक्षक भट्टले मालीलाई कोर्ट प्रवेश गराए। यो जितसँगै नेपालले सेमिफाइनल प्रवेशका लागि बलियो सम्भावना बनाएको छ। समूह ‘ए’ मा रहेको नेपालले अब शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्नेछ।  यसका साथै पुरुष भलिबलमा आज साँझ ७ बजे नेपाल र बंगलादेश भिड्नेछन्। सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भएपनि भलिबल भने चार दिन अगाडि नै सुरु हुन लागेको हो। अन्य खेलहरू भने मंसिर १५ बाट मात्रै सुरु हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here