दरबार अवलोनकर्ताहरूको दरबार हत्याकाण्डमा प्रयोग भएका हतियार हेर्ने इच्छा

180
काठमाडौं / दरबार हत्याकाण्डको घटनासँग प्रत्यक्ष जोडिएको तत्कालीन युवराज दीपेन्द्र शाहको निजी निवास धमाधम पुनःनिर्माण भइरहेको छ ।  दरबार सङ्ग्रहालयका कर्मचारीहरू अवलोनकर्ताहरूले दरबार हत्याकाण्डमा प्रयोग भएका हतियार हेर्न निकै इच्छा व्यक्त गर्ने गरेको सुनाउँछन् । ती हतियार सबै नेपाली सेनामा बुझाइसकिएको छ ।

तत्कालीन राजा त्रिभुवनको निजी निवास त्रिभुवन सदनलाई प्रबलीकरण गरेर दीपेन्द्रलाई १८ वर्ष उमेर पुगेपछि श्रीसदनबाट त्रिभुवन सदनमा सारिएको थियो ।

हत्याकाण्डका दिन सोही भवनको भ¥याङमा तत्कालीन रानी ऐश्वर्यको हत्या भएको थियो । २०६१ सालमा त्रिभुवन सदनभित्र रहेको दीपेन्द्रको निजी निवासका साथै बिलियार्ड हललाई जगसहित भत्काइएको थियो ।

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले आगामी एक वर्षभित्र दीपेन्द्रको निजी निवासको पुनःनिर्माण सम्पन्न गरिसक्ने गरी काम अगाडि बढाइएको बताउनुभयो । ‘अवलोकनकर्ताहरूले दीपेन्द्रको निजी निवासका बारेमा निकै जिज्ञासा राख्ने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘शाहीकालमा त्यो भत्काउन लगाइयो । अहिले दुरुस्त भवन निर्माण भइरहेको छ । भवन तयार भएपछि हत्याकाण्डका बारेमा जिज्ञासा राख्नेहरूले त्यो बेला कस्तो भौतिक संरचना थियो भन्ने अनुमान गर्न सक्नेछन् ।’

यसअघि सङ्ग्रहालयले बिलियार्ड हलको पुनःनिर्माण सम्पन्न गरेको छ । त्यो बेलाका फर्निचर, तस्बिर, गलैँचा आदि नयाँ बनेको हलमा राखिएको छ । दीपेन्द्रको निजी निवास भत्काइएपछि त्यहाँ रहेका झ्यालढोका आदि सामग्री दरबार परिसरभित्र नयाँ टहरो बनाई राखिएको छ । दुईतले सो भवनमा त्यसबेला रहेका सजावटका सामग्री, ओछ्यान, फर्निचर आदिको अत्तोपत्तो छैन ।

दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक दाहालले दीपेन्द्रको निजी निवासमा त्यसबेला भएका सामग्रीको खोजी गरिने र फेला परेसम्म ल्याएर राखिने जानकारी दिनुभयो ।

यसैगरी तत्कालीन प्रधानमन्त्री रणोद्दीप सिंहको हत्या भएको घर र सँगैको बम्बैचोकको पुनःनिर्माण गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सो पुनःनिर्माण गरिदिने भएको हो । त्यसका लागि ३० करोड रुपियाँ विनियोजन गरिएको आजको गोरखापत्रमा खबर छ । जङ्गबहादुरका भाइ रणोद्दीपलाई धीरशमशेरका चार जना छोराले सोही भवनमा हत्या गरेका थिए र २०७२ सालको भूकम्पअघिसम्म सो भवन सुरक्षित थियो ।

सङ्ग्रहालयका कार्यकारी निर्देशक दाहालले तत्कालीन राजपरिवारले प्रयोग गर्ने गरेको विमान र हेलिकप्टर, सवारी साधन आदि पनि प्रदर्शनीमा राखिने तयारी गरिएको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here