कवि शिरोमणि लेखनाथ पौड्यालको १३६ औं जन्मजयन्तीको अवसरमा पत्रकार र साहित्यकार सम्मान

245

विराटनगर / विराटनगर–५ चाँदनीचोकस्थित शिरोमणि पुस्तकालयले साहित्यकार र पत्रकारलाई सम्मान गरेको छ ।
कवि शिरोमणि लेखनाथ पौड्यालको १३६ औं जन्मजयन्तीको अवसर पारेर पुस्तकालयले साहित्यकार र पत्रकारलाई सम्मान गरेको हो । यस वर्ष ‘कवि शिरोमणि साहित्य सम्मान’ डा. विमला श्रेष्ठ र शिरोमणि पत्रकारिता सम्मान अनन्तराज न्यौपानेलाई प्रदान गरेको छ ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पुस्तकालयका अध्यक्ष बालकृष्ण निरौलाले दुवैजनालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । श्रेष्ठ चार दशकभन्दा लामो समयदेखि साहित्य सिर्जनामा सक्रिय छिन् । उनका विभिन्न चारवटा कृति प्रकाशित छन् ।

न्यौपाने साढे २ दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् । गत वर्ष पुस्तकालयले पत्रकारिता सम्मान मीनकुमार नवोदित र साहित्य सम्मान मञ्जुश्री गिरीलाई प्रदान गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पराजुलीले भाषा, साहित्य र संस्कृतिको संरक्षण र संवद्र्धनमा महानगरपालिकाले काम गरिरहेको जनाए । उनले शिरोमणि पुस्तकालयलाई १ कठ्ठा जग्गा उपलब्ध गराइसकेको चर्चा गर्दै भवन निर्माणमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।

“चाँदनीचोक नजिकै पुस्तकालयलाई महानगरपालिकाले १ कठ्ठा जग्गा उपलब्ध गराइसकेको छ,” उनले भने, “आवश्यक अन्य सहयोग गर्न महानगर तयार छ । भवन निर्माण सुरु गर्नुहोस् म सहयोग गर्न तयार छु ।”

उनले महानगर क्षेत्रभित्र रहेर साहित्यको दीर्घ सेवा गर्नेलाई महानगरले सम्मान गर्ने योजना बनाएको सुनाए । २० वर्षभन्दा लामो सेवा गरेकाहरूलाई मासिक सम्मान रकम उपलब्ध गराउन बजेट नै छुट्याइसकेको मेयर पराजुलीले जानकारी दिए ।

कार्यक्रममा कवि भरत गुरागाईं, मीनकुमार नवोदित, बाबुराम पोखरेल, ममता श्रेष्ठ, कविता केसरी, ओम आचार्य, सरिता लुधाधर, प्रिन्स प्रमोद ढकाल, रोहिणी रसिक, मीना श्रेष्ठलगायत डेढ दर्जन स्रष्टाहरूले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

विराटनगर–५ का वडाध्यक्ष मीनकुमार आचार्य, प्राज्ञ विवश पोखरेल, पुस्तकालयका उपाध्यक्ष काजीबाबु पोखरेल, सचिव सरलराज पोखरेललगायतले नेपाली साहित्यमा शिरोमणि लेखनाथ पौड्यालले पु¥याएको योगदानको चर्चा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here