महानिरीक्षक खनालले बझाङमा नवनिर्मित भवनहरु भिडियो कन्फ्रेन्सद्वारा उद्‍घाटन

57

काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय बझाङ परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, कार्यालय प्रमुख निवास र मेश भवनको मंगलबार उद्‍घाटन गर्नुभयो । उक्त भवनहरु प्रहरी महानिरीक्षक खनालले प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्सद्वारा उद्‌घाटन गर्नुभएको हो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले उत्कृष्ट भवनसँगै थप परिस्कृत प्रहरी सेवा प्रवाह गर्नुपर्ने चर्चा गर्दै अपराध र अपराधीलाई कानूनी दायरामा ल्याउन निर्भिक, निडर, इमान्दार एवम् कर्तव्यनिष्ठ भएर काम गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

नेपाल प्रहरीमा आबद्ध भएर देश र जनताको सेवा गर्न पाउनु जीवनको सबै भन्दा ठूलो एवम् महत्वपूर्ण क्षण भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले सबै निकायहरुसँग समन्वयात्मक रुपमा अगाडि बढेर आफूलाई प्राप्त जिम्मेवारी सम्पादन गर्नुपर्ने उल्लेख गर्नुभयो । साथै अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले अवलम्बन गरेको समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत विभिन्न संघ संस्था तथा नागरिकहरुसँग समन्वय र सहकार्य गरी थप प्रभावकारी रुपमा
सचेतनामूलक कार्यक्रम संचालन गर्न समेत उहाँले निर्देशन दिनुभयो । समाजमा भएका विकृति विसंगति निर्मूल गर्नका लागि प्रहरीले स्थानीय तह, विभिन्न संघसंस्था एवम् महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भिडियो कन्फ्रेन्सबाटै धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल सरकारको नियमित बजेटबाट कुल ८ करोड ५९ लाख १८ हजार ६ सय ५३ रुपैयाँ ८४ पैसाको लागतमा उक्त भवनहरु निर्माण कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

कन्फ्रेन्सबाट उद्‌घाटन कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुखहरु, विभिन्न राजनीतिक दलका जिल्ला प्रमुख तथा प्रतिनिधिहरु, पूर्व प्रहरी कर्मचारीहरु, महिला अधिकारकर्मी, स्थानीय भद्रभलादमी, समुदाय-प्रहरी साझेदारी अन्तर्गतका पदाधिकारीहरु, स्थानीय संचारकर्मी र प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

उद्‍घाटन पश्चात जिल्ला प्रहरी कार्यालय बझाङमा आयोजित कार्यक्रममा बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा हस्ताक्षर गरिएको प्रशंसापत्र स्थानीय निकायका पदाधिकारीहरुलाई प्रदान गर्नुभयो । साथै प्रमुख जिल्ला अधिकारी पाण्डेले उक्त भवनहरु निर्माण कार्यमा उल्लेखनीय योगदान पुर्‍याउने निर्माण व्यवसायीहरुलाई प्रशंसापत्र समेत प्रदान गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here