काठमाडौं / साम्राज्यवादविरुद्ध अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका प्रतिनिधि नेकपाका अन्तर्राष्ट्रिय ब्युरोका सदस्य माणिक लामाले केपी ओली सरकारको फासिवादी कदमको कडा शब्दमा विरोध गरेका छन् ।
ग्रिसको एथेन्स सहरमा आयोजित कार्यक्रममा प्लेटो, एरिस्टोटल, पाइथागोरसलगायत इतिहासप्रसिद्ध व्यक्तित्वहरूको सहरका रूपमा चिनिने एथेन्समा लामाले भने, ‘नेपालमा पनि हामी साम्राज्यवादविरुद्ध लडिरहेका छौँ । नेकपाको नेतृत्वमा अमेरिकी, भारतीयलगायत साम्राज्यवादविरुद्ध यतिबेला नेपालमा तीव्र सङ्घर्ष छ तर केपी वलीको सरकार साम्राज्यवादको दलाली गरेर नेकपाका नेता–कार्यकर्ताहरूलाई मारिरहेको छ । जेल र हिरासतमा बन्दी बनाइरहेको छ । म यो मञ्चबाट उक्त फासिवादी कदमको तीक्ष्ण विरोध गर्छु र हाम्रो कदममा साथ दिन तपाईंहरूको पनि समर्थन चाहन्छु ।’
उक्त सम्मेलनमा फिलिपिन्स कम्युनिस्ट पार्टी माओवादी, पेकपा साइनिङपाथ, मेक्सिको, टर्की, ग्रिस, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, बेल्जियम, स्पेन, अस्ट्रिया, स्विट्जरल्यान्ड, आयरल्यान्ड, बेलायत, बुल्गेरिया, इटाली, लेबनान, सिरिया, अस्ट्रिया, अजरबैजानलगायत दुई दर्जनभन्दा बढी मुलुकका मालेमावादीहरूको सहभागिता रहेको जानकारी ग्रिसबाट नेपालका प्रतिनिधि माणिक लामाले दिएका छन् ।
सम्मेलनमा पेरूमा तीन दशकदेखि कठोर काराबास जीवन भोगिरहेका पेकपा साइनिङपाथका नेता डा। अभिमाइल गुज्मान गोन्जालोका वकिल पनि सहभागी रहेको इरातोखबरमा उल्लेख छ ।
आइतबार सम्पन्न भएको सम्मेलन चार दिनसम्म सञ्चालन भएको थियो । संसारभरका मालेमावादीहरू साम्राज्यवादका विरुद्ध एउटै मोर्चा बनाएर लड्ने सम्मेलनमा सहमति भएको जनाइएको छ ।


















