-बिशेष प्रतिनिधि, जापान जापानको योकोहामा तटमा दुइसाता रोकेर ७१० जना कोरोना संक्रमित पाईएको डाईमण्ड प्रिन्सेस पानी जहाँजमा नेपाली पनि रहेको पुष्टि भएको छ । प्राप्त जानकारी अनुसार उक्त पानी जहाँजमा एकजना मात्र नेपाली रहेका थिए । पानी जहाँजमा कार्यरत ती नेपालीमा हालसम्म तीन साता गरिएको स्वास्थ्य परिक्षणका क्रममा कुनैपनि संक्रमण नभएको पाईएको छ । पानी जहाँजमा रहेका ३७ सय यात्रु मध्ये ७ सय १० जना संक्रमित र ४ जनाको मृत्यु भएपनि एकजना मात्र रहेका नेपाली सुरक्षित रहेका छन् ।
हाल जापानमै स्वास्थ्य निगरानीमा रहेका उनको अवस्था सामान्य रहेको छ । यसैबिच नेपाली राजदूतावास जापानले जापानवासी नेपालीहरुलाई जापानमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट बच्ने उपायहरु अपनाउन अनुरोध गरेको छ । दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालका अनुसार जापानमा हालसम्म कोरोना भाईरसबाट कोहीपनि नेपाली संक्रमित पाईएका छैनन् । केही व्यक्तिमा रुघाखोकी तथा अन्य संक्रमण पाईएर स्वास्थ्य परिक्षणको लागि अस्पताल गएका विवरणहरु आएपनि कोरोना भाईरसको संक्रमण भने नपाईएको उपनियोग प्रमुख अर्यालले जानकारी दिनुभयो ।
कोरोना भाईरसको संक्रमणबाट जोगिन जापान सरकारले जारी गरेका सूचना र नियमहरुको पालना गर्न राजदूतावासको तर्फबाट उपनियोग प्रमुख अर्यालले आग्रह समेत गर्नुभयो । दूतावासले सामाजिक सञ्जाल फेसबुक मार्फत कोरोना भाईरसबाट जोगिने उपाय तथा सुरक्षित रहन अपनाउनुपर्ने जानकारीबारेमा सूचनाहरु सम्प्रेषण गरिरहेको अर्यालको भनाई छ । नेपाली राजदूतावास टोकियोले विज्ञप्ति मार्फत समेत जापानवासी नेपालीहरुलाई भिडभाडमा नजान, सभा, भेला तथा ठूला कार्यक्रमहरु तत्काल नगर्न एवं कोरोना भाईरसको संक्रमणजन्य लक्षण देखिएमा तत्काल स्वास्थ्य परिक्षण गराउन सबैमा अनुरोध गरेको छ ।
जापानवासी नेपालीमा स्वास्थ्य सम्वन्धि कुनै गम्भिर समस्या तथा सहयोग आवश्यक परेको दूतावासले सहयोग गर्ने जनाएको छ । जापानस्थित सरकारी निकायहरुबाट दूतावासले प्राप्त गरेको विवरणहरुमा अहिलेसम्म जापानमा रहेका कोहीपनि नेपालीमा कोरोना भाईरसको संक्रमण नपाईएको तर सचेत रहनुपर्ने भएकाले स्वास्थ्य सावधानी अपनाउन दूतावासका उपनियोग प्रमुख अर्यालले सबै जापानवासी नेपालीहरुमा अनुरोध गर्नुभयो ।


















