काठमाडौं – कोरोना भाइरसको महामारी रोक्न भन्दै छिमेकी मुलुक भारतले विश्वकै सबैभन्दा कठोर कदम उठाएको छ । कोरोना भाइरस नियन्त्रणका लागि भन्दै विभिन्न देशले विभिन्न देशमा आवतजावतमा रोक लगाइरहेका बेला छिमेकी मुलुक भारतले भने विश्वका कुनै पनि मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको हो । उसले विदेशमा रहेका आफ्ना नागरिकलाई समेत भोलि (शुक्रबार)देखि मुलुक छिर्न नदिने घोषणा गरेको हो । कोरोनाभाइरस प्रकोपले महामारी रूप लिएपछि उक्त कठोर कदम उठाइएको भारतले जनाएको छ ।
बीबीसीका अनुसार बुधबार भारतका शीर्ष मन्त्रीहरूको बैठकपछि उक्त ‘यात्रा निर्देशिका’ जारी गरिएको हो । बैठकको नेतृत्व केन्द्रीय स्वास्थ्य मन्त्री हर्षवर्धन र नागरिक उड्यन मन्त्री हर्दिप पुरीले गरेका थिए । यात्रा निर्देशिका अनुसार भारत सरकारले अब मार्च १३ अर्थात् भोलि शुक्रबार मध्याह्न १२ बजेपछि भारतका लागि आउने विदेशीलाई प्रवेश दिने छैन ।


















