एजेन्सी – संसारभर कोरोनाभाइरसको त्रास फैलिरहेको समयमा एक अमेरिकी कम्पनीले आफूले तयार गरेको टेस्टिङ किटले ५ मिनेटमा कोरोनाको रिपोर्ट दिने दाबी गरेको छ ।
कम्पनीले बनाएको किटले ५ मिनेटमा कोरोना संक्रमित नेगेटिभ वा पोजेटिभ देखाइदिने दाबी गरेसँगै अमेरिकाको खाद्य तथा औषधि प्रशासन विभागले परीक्षण गरेर यसलाई स्वीकृती दिएको छ ।
कम्पनीले कोरोनाभाइरसको परीक्षणको लागि पोर्टेबल (बोकेर हिड्न मिल्ने) टेस्टको प्रदर्शन गरेको थियो ।
एबोट लेबोरेटरीजले पनि आफ्नो ट्वीटर ह्याण्डलमा आफूहरुले परीक्षण शुरु गरिसकेको पनि जनाएका छन् । यो परीक्षण ५ मिनेटभन्दा छिटो हुनेछ । कम्पनीले विज्ञप्तिमा परीक्षण उसको ‘आइडी नाउ’ प्लेटफर्ममा हुनेछ । ‘यो एउटा एकदमै सानो र सजिलै बोक्न मिल्ने मेसिन हो, जसले म्यालिक्युलर टेक्नोलोवीमा काम गर्छ’, विज्ञप्तिमा भनिएको छ ।
५ मिनेटमा परीक्षण गर्नमिल्ने भनेपछि सामाजिक सञ्जालमा यसको खुब चर्चा भएको छ । अमेरिकी खाद्य तथा औषधि विभागले यसलाई आपतकालीन उपयोगको लागि अनुमति दिएको छ । विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसले ५ मिनेटमा पोजेटिभ र १३ मिनेटमा नेगेटिभ रिपोर्ट देखाउने छ ।’ यो उपकरण एकदमै सानो भएकोले यसको उपयोग क्लिनिकहरुमा पनि गरिएको छ । कम्पनीले १ हप्तामा ५० हजारभन्दा बढी मानिसको परीक्षण गर्न सकिने जनाएको छ ।

















