गृह मन्त्रालयद्वारा विपन्न परिवारलाई विशेष राहत प्याकेजकाे व्यवस्था

87
काठमाडौं – गृह मन्त्रालयले आपूर्ति र राहत व्यवस्था सहज बनाउने, निमुखा, गरीवलाई आवश्यक राहत वितरण गर्ने निर्णय गरेको छ ।
गृहमन्त्री रामबहादुर थापा वादलको अध्यक्षतामा  आपूर्ति, गृहसचिव, जनपद, सशस्त्र र अनुसन्धानका प्रमुख, काठमाडौं उपत्यकाका मेयरहरु, उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, गृहमन्त्रालयका राजनीतिक सल्लाहकारसहितको सहभागितामा बसेको वैठकले कोभिड १९ को रोकथाम, राहत सामग्री वितरण, सुरक्षा लगायतका विषयमा महत्वपूर्ण निर्णय गरेको गृहमन्त्रालयको स्रोतले जनाएको छ ।
आजको वैठकले चिया पसल, भट्टीसहित जमघट हुने स्थानहरुलाई बन्द गर्ने निर्णय गरेको छ । खाद्यान्नसहित अत्यावश्यक वस्तुका पसलहरु सहजताका साथ खोल्न दिने पनि निर्णय भएको छ । पसलमा किनमेल गर्दा भने कम्तीमा दूरी भने कायम गर्न कडाइ गर्ने पनि निर्णय भएको छ ।
विपन्न परिवारका चार जनासम्मलाई एउटा प्याकेज र चारभन्दा माथिकालाई अर्काे प्याकेज दिने निर्णय वैठकले गरेको छ । चार जनाको परिवारलाई दश किलो चामल, डेढ किलो दाल, आधा किलो नुन,एक किलो चिउरा, एउटा साबुनसहितका आधारभूत बस्तु दिने निर्णय भएको छ । चारभन्दा बढीको परिवारलाई १५ किलो चामलसहित त्यही  अनुपातमा अत्यावश्यक सामान दिने निर्णय भएको छ ।
वडा अध्यक्षको नेतृत्वमा वडा समन्वय समिति बनाउने र त्यसले लगत संकलन गरी आवश्यक राहत वितरण गर्ने निर्णय भएको छ । स्थानीय तहमा अस्वस्थ प्रतिस्पर्धा नगरी एकरुपतामा सामान वितरण गर्ने, एकद्वार प्रणालीलाई कडाइका साथ लागू गर्ने, यो संकटका बेलामा केही सामान दिएको भनेर प्रचार गर्ने, पैसा उठाउने कामलाई रोक्ने निर्णय पनि भएको छ ।
गृहमन्त्री रामबहादुर थापा वादलले यो संकटमा कोही पनि भोकै नमरुन भन्ने कुरालाई ख्याल गर्दै विपन्नकोमा जतिसक्दो छिट्टो पुगेर राहत वितरण गर्न निर्देशन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here