सलमानद्वारा लकडाउनको अवधिभरि २५ हजार सिने मजदुरलाई आर्थिक सहयोग

60

एजेन्सी –  बलिउड अभिनेता सलमान खानले भारतमा लकडाउनको अवधिभरि २५ हजार सिने मजदुरलाई पाल्ने जिम्मा लिएका छन् ।

विगत तीन सातायता बलिउडमा सम्पूर्ण फिल्म, टेलिफिल्म तथा अन्य सुटिङ रोकिएपछि दैनिक ज्यालादारीमा काम गर्ने ५०औं हजार मजदुर बेरोजगार भएका छन् । तीमध्ये २५ हजार सिने मजदुरको आर्थिक अवस्था निकै नाजुक भएको मुम्बईमा कार्यरत सिने मजदुरहरूको संस्था ‘पश्चिम भारत सिने कर्मचारी संघ’ले जनाएको छ ।

छायांकनलगायतका फिल्मका सबै काम रोकिएपछि ५ लाख सिने मजदुर सदस्य रहेको आफ्नो संघका २५ हजार सिने मजदुरको अवस्था दयनीय रहेको भन्दै यो संघले अभिनेता सलमान खानसँग सहयोगको अपिल गरेको थियो ।

सो अपिलसँगै अभिनेता सलमानले आफ्नो च्यारिटी संस्था बिग ह्युमनका तर्फबाट यी २५ हजार सिने मजदुरलाई आर्थिक सहयोग प्रदान सुरु गरेका छन् ।

‘बलिउड सिनेमा उधोगमा दिनरात नभनी सिफ्टको हिसाबले दैनिक ज्यालादारीमा काम गर्ने फिल्म वर्करहरूलाई अहिले हाम्रो सहयोगको आवश्यकता छ । त्यसैले, जबसम्म मुलुकको लकडाउन सकिँदैन र फिल्मको काम सुरु हुँदैन, तबसम्म बिग ह्युमनका तर्फबाट उनीहरूलाई आर्थिक सहयोग प्रदान गरिनेछ,’ अभिनेता सलमान खानले भनेका छन् ।

अभिनेता सलमानले मुलुक क्वारेन्टाइनमा बसेर कोरोनाविरुद्धको संघर्षमा जुटिरहेको बेला कैयौं मजदुर भोकसँग लड्नुपर्ने अवस्था आएको बताएका छन् । त्यसमा दैनिक ज्यालादारीमा काम गर्ने सिने मजदुर पनि रहेको उनको ठहर छ । तीन साताअघि उनले नै सिने मजदुरलाई फिल्मको काम छाडेर आफूलाई कोरोनाबाट सुरक्षित राख्न आह्वान गरेका थिए ।

‘पश्चिम भारत सिने कर्मचारी संघ’ले अभिनेता सलमान खानको च्यारिटी संस्थालाई ती २५ हजार मजदुरको पारिवारिक अवस्थसहितको सूची उपलब्ध गराउँदै छ । बलिउडको सम्पूर्ण छायांकन तथा अन्य प्राविधिक काम बन्द रहुन्जेलसम्मको अवस्थामा उनीहरूले कमाउने न्यूनतम पारिश्रमिक सलमानको च्यारिटी संस्थाले अब प्रदान गर्ने भएको छ । तीमध्ये पनि आर्थिक अभावले खान नसक्ने अवस्थामा रहेका सिने मजदुरहरूलाई खाद्यान्नलगायतका सामग्री वितरण कार्य तत्कालै सुरु गर्ने काममा पनि सलमानको च्यारिटी संस्था जुटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here