एजेन्सी – भारतमा कोरोनाभाइरसको संक्रमणले गुणात्मक फट्को मार्न थालेको छ । सुरुवाती ५२ दिनसम्म भारतमा कोरोना संक्रमणको ४०३ मामिला पुष्टि भएको थियो भने सात जनाको मृत्यु भएको थियो । तर पछिल्लो ९ दिनमा संक्रमित र मृतकको तथ्याङ्कमा निकै वृद्धि देखिएको छ । पछिल्लो ९ दिनमा संक्रमणको एक हजारभन्दा बढी मामिला पुष्टि भएको छ भने मृतकको संख्यामा ४५ जना थपिएका छन् । अर्थात् भारतमा कोरोना संक्रमणबाट मृतकको संख्या ५२ पुगिसकेको छ ।
मंगलबार भारतमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको थियो । राज्यका हिसाबले भारतमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुनेमा महाराष्ट्र छ । महाराष्ट्रमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भइसकेको छ ।
भारतमा कोरोना संक्रमणबाट मार्च ११ मा पहिलो मृत्यु भएको थियो । कर्नाटकका ७६ वर्षीय वृद्धको मृत्यु भएको दुई दिनपछि दिल्लीमा दोस्रो संक्रमितको मृत्यु भएको थियो ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका विकसित मुलुकले समेत कोरोना संक्रमणका सामू घुँडा टेकेको भन्दै आफ्नो नेतृत्वको सरकारले गरेका कामको बचाउ गरेका छन् । उनले कोरोनाभाइरसको स्वभाव र प्रकृति नै तीव्र गतिमा फैलिने रहेका कारण बचाउ एवं रोकथामका पर्याप्त कदम चाल्दा चाल्दै पनि संक्रमण फैलिन पुगेको जनाए ।


















