रुपा गाउँपालिका दुईभन्दा बढी भेटघाट गर्ने नपाइने

80

कास्की- कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि कास्कीको रुपा गाउँपालिका कार्यपालिकाको मङ्गलबार बसेको विशेष वैठकले बुधबार साँझदेखि गाउँपालिका आउने र जाने क्रमलाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष नवराज ओझाले लकडाउन प्रभावकारी बनाउन आठ नाकामा प्रहरीसहितको कोरोनाविरुद्ध  परिचालित स्वयंसेवकलाई खटाएर पूर्ण कार्यान्वयन गरिने जानकारी दिए  ।

ओझाले गाउँपालिकावासीका लागि आवश्यक औषधि र अन्य उपभोग्य सामग्री सकिएमा गाउँपालिका वा जनप्रतिनिधिलाई खबर गरे सोको व्यवस्था गाउँपालिकाले नै गर्ने जानकारी दिनुभयो ।

रुपा गाउँपालिका बाहिरबाट आएका खण्डमा स्वास्थ्यकर्मीको निगरानी र निर्देशनमा अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने र थप अवस्था देखिएमा गाउँपालिकाको निर्देशनअनुसार बस्नुपर्ने निर्णय बैठकले गरेको छ।  त्यसैगरी गाउँपालिकाभित्र दुई वा सोभन्दा बढीको समूहमा समेत भेटघाटमा बन्देज लगाइएको छ। गाउँपालिकाभित्रका नागरिकको स्वास्थ्य र अन्य समस्या समाधानका लागि वडा कार्यालयमार्फत गाउँपालिकाले गर्नेछ।

हाल २५ शय्याको क्वारेन्टाइन गाउँपालिकाले आफ्नै खर्चमा निर्माण गरेको छ। उक्त क्वारेन्टाइनमा १४ जना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो।

यसअघि क्वारेन्टाइनमा २२ जना रहेका थिए भने एक जनाको मृत्यु भएको थियो। मृत्यु हुने व्यक्तिमा कोरोनाको संक्रमण नभएको टेकु अस्पतालको रिपोर्टले पुष्टि गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here