काठमाडौं – गुणस्तरमा आशंका गरिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओम्नी ग्रुपमार्फत चीनबाट झिकाइएको कोभिड—१९ ¥यापिड डायग्नोष्टिक किट तत्काल प्रयोग नगर्न निर्देशन दिएको छ ।
यसबाहेक मन्त्रालयले विभिन्न ठाउँबाट व्यक्तिगत तथा निजी संस्थामार्फत ल्याइएको यस्ता किटको प्रयोग पनि निषेध गरेको छ ।
स्वास्थ्य मन्त्रालय स्वयंले १२ चैतमा ओम्नि ग्रुपमार्फत चीनबाट ६ लाख अमेरिकी डलर मुल्य बराबरका ७५ हजार थान ¥यापिड डायग्नोष्टिक किट खरीदको सम्झौता गरेको थियो ।
मन्त्रालयका विज्ञ सल्लाहकार डा.खेम कार्कीले विश्व स्वास्थ्य संगठन र सरकारको मापदण्ड विपरीतका किटहरु भित्रिएको सुन्नमा आएका कारण परीक्षण बेगर यसको प्रयोग नगर्न निर्देशन दिएको जनाए ।
“व्यक्तिगत तथा निजी संस्थामार्फत बाहिरबाट ल्याइएका किटहरुमार्फत पनि कोेभिड–१९ परीक्षण गर्न थालिएको सूचना आएपछि मन्त्रालयले गुणस्तर यकिन नभएका किट प्रयोग नगर्न निर्देशन हो”, कार्कीले भने ।
यसअघि हिमालखबरले चीनबाट ल्याइन लागिएको किट गुणस्तर यकिन गरेर मात्र ल्याइनुपर्ने नत्र स्पेनको जस्तो दूरावस्था आउन सक्ने भन्दैं टिप्पणी प्रकाशित गरेको थियो ।
आफूले नै खरीद सम्झौता गरेको कम्पनीले ल्याएको किटको गुणस्तरमा अहिले मन्त्रालय स्वयं किन शंका गरिरहेको छ त ?
विज्ञ सल्लाहकार कार्की भने खरीदको औपचारिक निर्णय हुनु अघि नै कम्पनीले गुणस्तर यकिन नभएका किट अर्डर गरेर तिब्बतसम्म ल्याइसकेको र तिनै किट अहिले नेपाल आएको जनाउँछन् ।
“कतिपय किटको गुणस्तर यकित नभएकाले तिब्बतमै रोकियो । कति चाँहि नेपाल भित्रिएछन्, जसको जानकारी हामीलाई समयमै भएन”, उनी भन्छन् ।
उनले गुणस्तर यकिन नभएका किटहरु सरकारीस्तरबाट कुनै पनि सरकारी संस्थामा वितरण नभएको पनि दाबी गरे ।
उनी विभिन्न मुलुकमा यस्ता किट बन्न गरेको तर सबै डब्लूएचओ मापदण्ड अनुसार नभएका कारण गुणस्तरमा शंका गर्नु परेको जनाउँछन् ।
स्पेनले एक चिनियाँ कम्पनीमार्फत खरीद गरेको कोभिड १९ किट गुणस्तरहीन भएको पाइएपछि किटको गुणस्तरमाथि आशंका बढेको हो । छानबिनका क्रममा उक्त कम्पनी चीनमा दर्ता नै नभएको खुलासा भएको थियो ।
“गुणस्तरहीन किटका कारण स्पेनले जुन समस्या भोग्नुप¥यो, हामी त्यसो नहोस् भन्नेमा सचेत छौं, डा. कार्कीले भने, “त्यसैले यस्तो निर्देशन जारी गर्नु परेको हो ।”
गुणस्तर यकिन नभएका किटमार्फत गरिएको परीक्षण उल्टो पनि हुनसक्ने र यसले झन् भयावह स्थिती निम्तिनेमा सरकार चनाखो भएको दाबी गर्छन् । कार्कीका अनुसार, किट मात्र होइन, सरकारले अनुमति दिएका प्रयोगशाला बाहेकबाट गरिने कोभिड–१९ परीक्षण पनि आधिकारिक नहुने बताउँछन् । हिमालखबर बाट

















