१३ इण्डोनेशियाली नागरिकलाई फिर्ता

99

काठमाडौं – सप्तरी जिल्लामा भएको धार्मिकसभामा भाग लिन आएका १३ इण्डोनेशियाली नागरिकलाई ललितपुरको महालक्ष्मी र गोदावरी नगरपालिकाबाट फिर्ता पठाइएको छ।

कोरोना संक्रमण (कोभिड–१९) का कारण मुलुकमा लकडाउन चलिरहेको अवस्थामा १९ चैतमा बिनाजानकारी उनीहरु महालक्ष्मी–४ इमाडोलको अजिजिया मद्रसा मस्जिदमा आएर बसेका थिए।

महालक्ष्मी र गोदावरीका स्थानीयले विरोध गरेपछि उनीहरुलाई फिर्ता पठाइएको हो। कोरोनाको जोखिम हटाउन महालक्ष्मीले बिहीबार दिउँसो ४ बजे उनीलाई मस्जिदबाट पठाएको थियो। त्यसपछि उनीहरुलाई प्रहरीले गोदावरी–३ टौखेलको गोदावरी भिलेज रिसोर्ट लगेर राखेको थियो। स्थानीयले यसको जानकारी पाएसँगै राति साढे १० बजे यहाँबाट पनि उनीहरुलाई फिर्ता पठाइएको छ।

यी नागरिकलाई सप्तरीबाट काठमाडौं बालाजु हुँदै महालक्ष्मी नगर क्षेत्र ल्याउने व्यक्ति वा निकायको पहिचान भएको छैन। छानबिन गरी सत्यतथ्य जनसमक्ष सार्वजनिक गर्न महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर क्षेष्ठले अपिल गरेका छन्।

१३ नागरिक गत सन् २०२० जनावरी २१ मा इण्डोनेशियाबाट तबलिकी जमात अर्थात् मुस्लिम धर्म प्रचार समूहमार्फत काठमाडौंको जामे मस्जिदमा आइ बसेका पाइएको छ।

त्यसपछि फ्रेब्रुअरी १३ मा सप्तरीको रुपनी बजारमा तीन दिन इस्तिमा कार्यक्रम सहभागी भई गत चैत १८ गते सप्तरीको धार्मिक यात्राबाट फर्की चैत १९ गते काठमाडौंको बालाजु माछापोखरी मस्जिदमा पुगेका थिए। त्यहाँ बस्न खोज्दा स्थानीयवासीले विरोध गरेपछि स्थानीय प्रहरीले मस्जिदका पदाधिकारीसँग सल्लाहमा गरी इमाडोल ल्याएको बताइएको छ।

इमाडोलवासीले पनि कोरोना त्रासका कारण विरोध गरेपछि चैत २० गते दिउँसो रिसोर्टमा ल्याइराखिएको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले जानकारी दिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here