सरकारले लकडाउनलाइ प्रभावकारी बनाइने

141

काठमाडाैं उपत्यकाभित्र सवारीको चाप बढ्न थालेपछि स्थानीय प्रशासनले थप सतर्कता अपनाएको छ ।  उपत्यकाकाे तीनै जिल्ला प्रवेश गर्ने नाकामा आवश्यक अन्य सुरक्षा सावधानीसमेत अपनाउन थालिएको छ ।

आइतबार काठमााडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालसहितको टोलीले उपत्यकाको विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्दै गाडीको आवतजावत, हालको सुरक्षा अवस्था र भावी दिनमा अपनाउनुपर्ने योजनाका बारेमा जानकारी लिएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालले आवश्यक सुरक्षा व्यवस्थाका साथै रोगको सङ्क्रमण भित्रिन नदिन उत्तिकै तयारीका साथ लागेको बताउनुभयो । नागढुङ्गा नाकामा भएको सवारी आवागमनको अवस्था र हालै स्थापना गरिएको डिसइन्फेक्सन टनेल र यसको प्रभावकारिताका बारेमा समेत उनीहरुले जानकारी लिएका छन् । अब अन्य स्थानमा पनि टनेल राख्ने तयारी गरिएको काठमााडौका प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

सडकमा राखिएको उक्त टनेलमा गाडी प्रवेश गरेपछि विभन्न ठाउँमा राखेको केमिकलयुक्त पानीको फोहराले गाडीलाई डिसइन्फेक्सन गराउँछ । यसले बाहिरबाट आएका सवारी साधनका किटाणुलाई रोक्ने दाबी छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकालले विशेष सुरक्षा सतर्कता अपनाएर बाहिरबाट उपत्यकामा गाडी प्रवेश गराइएको दाबी गरेका छन् ।

ट्राफिक प्रहरी महाशाखाले उपत्यकमा दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाइन्ट राखी जाँचको व्यवस्था मिलाएको जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत उत्तिकै मात्रामा खटिएका छन् । विगतका दिनमा भन्दा अहिले सवारीको चाप बढ्न थालेकाले ट्राफिक नियम उल्लङ्घन विरुद्धसमेत कारवाही शुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here