काेभिड १९ काे संक्रमण बढेपछि कुवेतमा तीन हप्तासम्म लकडाउन

80

एजेन्सी  – कोरोना भाइरसको सङ्क्रमण बढेपछि कुवेतमा आइतबारदेखि तीन हप्तासम्म पूर्ण रुपमा लकडाउन हुने भएको छ । मे १० आइतबारदेखि मे ३० सम्म पूर्ण रुपमा लकडाउन गर्ने कुवेतको मन्त्रीपरिषदले निर्णय गरेको स्थानीय सञ्चारमाध्यम कुवेत टाइम्सले लेखेको छ । आइतबार दिउँसो चार बजेदेखि यो निर्णय लागू हुनेछ ।

मन्त्रिपरिषदले निजी क्षेत्रको काम र अत्यावश्यकबाहेक सामान ओसारपसारको कामसमेत रोक्ने निर्णय गरेको छ । तर दिउँसोको साढे चार बजेदेखि साढे ६ बजेसम्म मानिसलाई हिँड्न दिने, तर गाडी भने चलाउन नदिने कुवेतले जनाएको छ ।

कोरोना भाइरसको महामारीबाट बच्न यो नै अन्तिम विकल्प भएको कुवेतको भनाइ छ । तर अत्यावश्यक सेवा जस्तै विद्युत, तेल, नगरपालिका लगायतका क्षेत्रमा कार्यरतलाई भने आवश्यकता हेरेर कामका लागि जान छुट दिइने जनाइएको छ ।

कुवेतमा अहिलेसम्म ७ हजार २०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । २ हजार ४६६ जना निको भएर घर फिरेका छन् भने ४ हजार ६९५ जनाको अस्पतालमा उपचार भइरहेको छ । ४७ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यहाँ रहेको नेपाली दूतावासका अनुसार कुवेतमा अहिलेसम्म ८४ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here