काठमाडौं – आज आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू भएको छ । सरकारले उपत्यकाभित्र सरकारी कर्मचारी, बैंकरबित्तीय क्षेत्र, दैनिक उपभोग्य बस्तु र निर्माण सामग्री बोकेका सवारी साधनलाई आजबाट सशर्त सञ्चालन अनुमति दिने भएको हो ।
सवारीहरुलाई सडकमा निस्केको कामको प्रकृतिअनुसार कुन समयमा चलाउन पाइने भनेर सरकारले टाइम कार्ड लागु गर्न लागिएकोले अब तोकेको समयमा मात्र चलाउन पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार सरकारी कार्यालयका कर्मचारीहरु बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर र्फकने समय तोकिएको छ । यस्तै बैंक वित्तीय संस्थाका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म र्फकनु पर्नेछ । ‘एक तिहाई मात्र कर्मचारी जाने भनिएको छ । त्यसैले दिउँसोको समयमा सामान्यतया आवत जावत नगरौं भनेर समय तोकिएको हो’ ढकालल भन्नुभयो ।
त्यस्तै, खाद्यान्न, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्ने छ । निमाण सामाग्री बोकेका ठूला सवारी बेलुका ८ बजेपछि विहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउनेछन् । औषधि र खानेपानीको सवारी साधानको हकमा भने टाइम कार्ड लागू हुने छैन ।
पास भएका सवारी पनि प्रयोजन बिना गुड्न नपाउने व्यवस्था गरिएको एसएसपी ढकालले बताए । चैत ११ गतेदेखि लगाइएको लकडाउनयता अत्यावश्यक सेवा र अनुमतिबाहेकका सवारी साधनबाहेक अन्यलाई सञ्चालन अनुमति दिइएको छैन ।


















