राष्ट्रपतिकाे ब्यवहारबाट मदन भण्डारीको बिचारले धोका पाएको सन्देश भएकाे छ

343

–निमकान्त पाण्डे

 आज जेठ ३ गते । २७ वर्ष अघि आजकै दिन मदन भण्डारी र जीवराज आश्रित सवार जीपलाई त्रिशूली नदीमा खसालिएको थियो । चालक अमर लामा जीबितै रहन सकेको त्यो कथित दुर्घटना कसैलाई पनि नाटकीय लागेको थियो । अमर लामा बाहेक अरु कसैले पनि उक्त दुर्घटनाबारे सत्य  जान्ने अवस्था थिएन । लामो समयसम्म जीबितै रहेका अमर लामालाई पनि रहश्यमय ढंगबाट हत्या गरिए पछि दासढुंगा दुर्घटनाको नामले चर्चित मदन मण्डारी र जीवराज आश्रितको ज्यान लिएको रहश्यमय हत्याकाण्ड अझै पनि रहश्यमै छ र हत्याकाण्डको छानविन गर्ने प्रतिवद्दता नेताहरुले गर्न थालेको पनि २७ वर्ष बितिसकेको छ ।

अहिले मदन भण्डारीकै पत्नी बिद्या भण्डारी देशको राष्ट्रपति पदमा आशिन हुनु हुन्छ भने मदनले नै निर्माण गर्नु भएको पार्टी दुईतिहाई बहुमत निकटको हैसियत बनाएर सरकार संचालन गरिरहेको अवस्था छ । मदन भण्डारीले भन्नु भएको थियो राजाका ठाउँमा राष्ट्रपति नै आए पनि सामन्ती संस्कारको अन्त्य हुन सकेन र जनताका आधारभूत आवश्यकता पूरा गर्ने सवालमा हामीले कुनै प्रगति गर्न सकेनौ भने त्यस्तो परिवर्तनको कुनै अर्थ रहने छैन भनेर बोल्नु भएको भाषण अहिले पनि नेपाली जनताले निकै मन्त्रमुग्ध भएर सुन्ने गर्दछन् ।

 देशका आम सर्वसाधारण जनता बिगत दुई महिनादेखि कोरोना भाईरसको संक्रमणको त्रासमा सरकारबाट जारी गरिएको लक डाउनको आदेश पालना गर्दै घरभित्र बस्न बाध्य भैरहेका छन् ।  दैनिक रोजगारीबाट गुजारा चलाउँदै आएका जनता एक छाक खानासमेत खान नपाएर मर्ने अवस्था सृजना भैरहेको छ । पसलहरु सबै बन्द रहेका छन् , सडक सम्पूर्ण रुपमा खाली रहेको अवस्था छ ।

यस्तो अवस्थामा मदनस्मृति दिवसको पूर्वसंध्याको दिन परेको छ । तर मदनका बिचारहरुको खिल्लि उडाउने गरी राजा महाराजाहरुको शासनकालमासमेत देख्न नपाईएको राजशी शानका साथ राष्ट्रपतिको भब्य सवारी चलाईयो ।

यो तस्विर हेर्दा सत्तासीन पार्टीका नेता र कार्यकर्ताहरुलाई कस्तो लाग्यो कुन्नी ? पंक्तिकारलाई भने यस्तो सामन्तबादी बिलाशी रौनकले मदन र आश्रितको आत्मामा गम्भिर चोट पुगाएको महशुस भएको छ । यो राजशी रौनकले नेपाली जनताको मन रुवाएको छ । राजसंस्थाको ठाउँमा सामन्ती ब्यवहारको उत्तराधिकारी बनेर राष्ट्रपति बिद्या भण्डारीले आम नेपाली जनतालाई मदन भण्डारीको बिचारले धोका खाएको सन्देश आफ्नो सामन्ती ब्यवहारबाट दिएकी छिन् । अन्त्यमा मदन र आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here