एमसीसी प्रस्तावको विपक्षमा मतदान गर्न विप्लव नेकपाको आग्रह, नगरे जनकारबाही गर्ने चेतावनी

171

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी कैलालीले जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूलाई एमसीसी परियोजनासम्बन्धी प्रस्तावका विपक्षमा मतदान गर्न अनुरोध गरेको छ ।

प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सासंदहरु लेखराज भट्ट, झपडबहादुर रावल, गौरीशङ्कर चौधरी, नारदमुुनि राना, कलुदेवी विश्वकर्मा, लक्ष्मीकुमारी चौधरी, हरिराम चौधरी तथा शारदादेवी भट्टलाई राष्ट्रियतासम्बन्धी जनताको म्यान्डेटको कदर गर्दै एमसीसी परियोजनासम्बन्धी प्रस्तावका विपक्षमा मतदान गर्न अनुरोध गरेको हो ।

सदनमा पार्टी सेक्रेटरी करणले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिहरुले विपक्षमा मतदान नगरेमा नेकपाले सांसदलाई जनकारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

उनको विज्ञप्तिमा भनिएको छ, ‘कथित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) इन्डोप्यासिफिक रणनीतिअन्तर्गतको कार्यक्रम हो भन्ने कुरा स्वयम् अमेरिकी सुरक्षा निकाय र सरकारका पदाधिकारीहरूले भनिसकेको अवस्थामा सरकार र सरकारबाहिर रहेका साम्राज्यवादका नेपाली एजेन्टहरू देशभक्त नेपाली जनताको विरोधका बाबजुद उक्त राष्ट्रघाती परियोजना संसद्बाट पारित गराई नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि हस्तक्षेप निम्त्याएर नेपाललाई साम्राज्यवादको सैन्य क्रीडास्थल बनाउन उद्यत रहेको सन्दर्भमा हाम्रो पार्टीको केन्द्रीय समिति तथा सेती–महाकाली ब्युरोले सङ्घर्षका कार्यक्रमहरू घोषणा गरिसकेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘यतिखेर कोरोना महामारीको त्रासका बीचमा पनि एमसीसीको विषयलाई लिएर सिङ्गो देश नै सङ्घर्षमय बनेको छ । उक्त राष्ट्रघाती परियोजनालाई वैधानिकता दिने वा खारेज गर्ने भन्ने विषयलाई लिएर नेपालको प्रतिनिधिसभा तथा राष्ट्रिय सभा पनि तत्कालीन अवस्थामा सङ्घर्षका केन्द्र बन्ने देखिँदैछन् । यस्तो पेचिलो अवस्थामा कैलाली जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्यहरू लेखराज भट्ट, झपडबहादुर रावल, गौरीशङ्कर चौधरी, नारदमुुनि राना, कलुदेवी विश्वकर्मा, लक्ष्मीकुमारी चौधरी, हरिराम चौधरी तथा शारदादेवी भट्टलाई राष्ट्रियतासम्बन्धी जनताको म्यान्डेटको कदर गर्दै सदनमा एमसीसी परियोजनासम्बन्धी प्रस्तावका विपक्षमा मतदान गर्न अनुरोध गर्दछौँ । नेपाली जनताको राष्ट्रभक्तिको भावना, आवाज र अपिलविपरीत तपाईंहरूद्वारा उक्त राष्ट्रघाती प्रस्तावका पक्षमा मतदान गरिएको खण्डमा जनस्तरबाट बहिष्कारदेखि जनकारबाहीको सामना गर्न तपाईंहरू तयार रहनुहुनेछ भन्ने कुरा पनि अवगत गराउन चाहन्छौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्यहरूलाई आम मतदाताद्वारा दबाब सिर्जनाका लागि एवम् कैलाली जिल्लामा राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध सङ्घर्षलाई संयुक्त रूपमा कार्यक्रम बनाई अगाडि बढ्नका निम्ति सम्पूर्ण राष्ट्रप्रेमी, सचेत नागरिक एवम् राजनीतिक दलहरूमा अपिल गर्न चाहन्छौँ ।’

विज्ञप्तिको पूर्णपाठ…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here