काठमाडौं- निरन्तर परेको वर्षाका कारण रुकुम(पूर्व), भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङमा लाखाैँको क्षति भएकोे छ ।
लाखर खोलाको बाढीले भंँगेरी खोलामा रहेको एउटा पुल, गैरीगाउँ माथिल्लो बजार नजीकैको एउटा पुल र वडा कार्यालयसँगै जोडिएको अर्को पुल बगाएको वडाध्यक्ष पुनले जनाएका छन् । स्थानीयवासी दलप्रसाद विक र गणेश पुनका एकएक घट्टका साथै खलबहादुर विकको गुम्टी पसल बगाएको हो । यस्तै एउटा सार्वजनिक शौचालय र एक सय मिटर सडक पनि बगाएको छ भने एउटा प्रतीक्षालय पूर्णरुपले क्षतिग्रस्त भएको छ ।
चुनबाङमा दाङबाट मात्र सीधा गाडी चल्छ । बसपार्क नै बाढीले बगाएपछि चुनबाङमा अहिले पार्किङका लागि अर्को कुनै क्षेत्र नभएको वडाध्यक्ष पुनले बताएका छन् । शुक्रबारदेखि परेको वर्षाका कारण शनिबार साँझसम्म पनि खोलामा पानीको बहाब नघटेपछि डोजर लगाएर खोला फर्काउने काम भइरहेको वडाध्यक्ष पुनले जानकारी दिएका छन् । बाढीकै कारण गैरीगाउँका केही घर जोखिममा परेको वडा कार्यालयले जनाएको छ । वर्षा शुरु नहुँदै बस्ती नजीकैको खोलामा बाढी आएपछि स्थानीयवासी त्रसित बनेका छन् । रासस


















