काठमाडौं – सरकारले गत फागुन ४ मा चीनको वुहानबाट १ सय ७५ जनालाई उद्धार गर्यो । उनीहरूलाई विमानस्थलबाट सिधै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो । सरकारले उनीहरूको खानासहितको व्यवस्थापन जिम्मा नेपाली सेनालाई दिएको थियो ।
क्वारेन्टाइनमा कोही पनि उपचार गर्नुपर्ने गरी बिरामी नभएको १७ दिन बसेका एक युवाले बताए । सेनाले भने उनीहरूका लागि औषधि खरिद गरेको भन्दै सरकारबाट ७३ लाख ९८ रुपैयाँ भुक्तानी लिएको छ । यसअनुसार १७ दिनमा प्रतिव्यक्ति ४२ हजार २ सय ७४ रुपैयाँ २८ पैसा औषधिमा खर्च भएको देखिन्छ ।
प्रतिदिन हिसाब निकाल्दा एक जनाको २ हजार ४ सय ८६ रुपैयाँ ७२ पैसा औषधिमा खर्च देखाइएको छ । यो खर्च अस्पतालमा उपचार गर्न बसेको भन्दा बढी भएको भन्दै क्वारेन्टाइनमा बसेकाहरू नै आश्चर्यमा परेको आजको आन्तिपुर दैनिकमा खवर छ ।


















