अङ्गीकृत नागरिकताको निर्णयप्रति पुनःविचार गर्न आग्रह

80
काठमाडौं  –  राष्ट्रियसभाका सांसदहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक र राज्य व्यवस्था तथा सुशासन समितिले अङ्गीकृत नागरिकता सम्बन्धमा गरेको निर्यणप्रति असहमति जनाउँदै पुनःविचार गर्न आग्रह गरेका छन् ।
सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद जितेन्द्रनारायण देवले वैवाहिक अङ्गीकृत नागरिकता सम्बन्धमा नेकपा सचिवालयले गरेको निर्णयको असर राज्य व्यवस्था समितिमा परेको र उक्त निर्णय अदूरदर्शी र अपरिपक्व भएको टिप्पणी गरे । उनले तराई मधेसका जनताको भारत सीमाक्षेत्रका नागरिकसँगको विवाह सम्बन्ध तोडेर मुलुकको राष्ट्रियता बलियो नहुने तर्क गर्दै भारतसँगको सांस्कृतिक सम्बन्ध कसैले तोडेर नटुट्ने बताए । साथै उनले निर्णयमा पुनःविचार गर्न आग्रह गरे । उनले मुलुकको परराष्ट्र नीति दुई छिमेकी चीन र भारतसँगको समुदरीका आधारमा हुनुपर्ने बताए ।
सांसद मृगेन्द्रकुमार सिंह यादवले नागरिकता विधेयक सम्बन्धमा नेकपाले सहमतिको बाटो छोडेर निर्णय गरेको भन्दै यसमा दुःख लागेको बताए । उनले उक्त निर्णयले तराईका समुदायको संस्कृतिमाथि अतिक्रमण हुने आरोप लगाए । फरक प्रसङ्गमा उनले खेतीपातीको समय भएको र विदेशबाट पनि धेरै युवा स्वदेश फर्केको समयमा मलको उचित व्यवस्था गर्नुपर्ने सरकारसँग माग गरे ।
सांसद देवेन्द्र दाहालले शून्य र विशेष समयमा बोलेको कुरा वेवारिसे हुने गरेको उल्लेख गर्दै रेकर्डमा मात्र सीमित हुने र जनताका कुरा उठ्ने काम नहुने विषयले खासै अर्थ नराख्ने बताए । उनले जनताका कुरा सुनुवाइ नभएको देखिएको हुँदा आगामी दिनमा समाधानका लागि सभाका अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए ।
सांसद शेखरकुमार सिंहले वर्षायाम शुरु भएको बताउँदै तराई मधेसमा वर्षेनी बाढीबाट हुने क्षतिका सम्बन्धमा समयमै सरकारले ध्यान दिई समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताए । उनले तटबन्ध निर्माण गर्न ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयको ध्यानाकर्षण गराए । साथै सो क्षेत्रमा किसानको बालीनालीमा वन्यजन्तुले गर्ने क्षति बारेमा वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराए ।-रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here