तीन दिनसम्म भारी वर्षा ! बाढी पहिरोको खतरा, सतर्क रहन आह्वान

178

काठमाडौं –  मनसुन सक्रिय भएपछि केही दिनदेखि जारी वर्षा कम्तीमा अरू तीन दिन नरोकिने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा तीन दिनसम्म मुलुकका विभिन्न भू-भागमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार अहिले पनि मुलुकका विभिन्न भू-भागमा हल्कादेखि मध्यमस्तरको वर्षा भइरहेको छ ।
दिउँसोसम्म प्रदेश १, २, गण्डकी, प्रदेश ५ र सूदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । आजै राति मुलुकका अधिकांश भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
यस्तै मंगलबार र बुधबार पनि मुलुकभर वर्षा हुने महाशाखाको पूर्वानुमान छ । मुलुकभर वर्षा नरोकिँदा विभिन्न नदी तथा खोला-खोल्सीमा पानीको वहाव उच्च भई बाढी पहिरो एवं डुबानको खतरा रहेकाले सतर्क रहन पनि महाशाखाले आह्वान गरेको छ ।
महाशाखाले भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकाले हिँडडुल गर्दा पनि सावधानी अपनाउन आह्वान गरेको छ ।
महाशाखाले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार मुलुकका विभिन्न स्थानमा न्यूनतम २ मिलिलिटरदेखि अधिकतम १३० मिलिलिटरसम्म वर्षा भएको छ ।
दिपायलमा २.४ मिलिलिटर वर्षा हुँदा धनगढीमा ३.५, वीरेन्द्रनगरमा १२.३, नेपालगञ्जमा १८,  घोराहीमा २५.४ र पोखरामा २७.८ मिलिलिटर वर्षा भएको छ ।
यस्तै भैरहवामा ११४.५ मिलिलिटर, सिमरामा ३५.६, काठमाडौंमा ९.४, ओखलढुंगामा ३.४, ताप्लेजुङमा १२.९, धनकुटामा ९.४, विराटनगरमा ८७.१, धरानमा १२.३, लुम्लेमा ३४.७ तथा जनकपुरमा १३० मिलिलिटर वर्षा भएको महाशाखाले जनाएको छ ।
कन्काई, कोशीसहितका नदीको बहाव बढ्ने
आगामी ३ दिन कन्काई, कोशी, कमला, बागमती, पश्चिम राप्ती नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी ३ दिन कन्काईको केही सहायक नदीमा जलसतह सतर्कता तह आसपास पुग्न सक्ने भएकाले नदी आसपास क्षेत्रका बस्तीमा सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here