आज देशभर असार १५ : धान दिवस मनाइँदै

241
काठमाडौं – असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदै छ ।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन् । मानो रोपेर मुरी फलाउने महिनाले पनि चिनिन्छ ।
आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मी कहाँ जानु नपर्ने बताइएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।
पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ । यसरी असार १५ नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । असार १५ का दिन आज गाउँठाउँका हुने खानेले बेठी लगाएर धान रोपाइँ गर्छन् । यसरी धान रोपाइँ गरे खेतबाट सह बसी मनग्य उत्पादन हुने विश्वास रहेको छ ।
वि.सं. २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।
२०६१ साल मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो ।
यसवर्ष कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमकाबीच पनि राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हुने भएको छ ।
कृषि विभागले तयार पारेको प्रोटोकल अनुसार राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । अघिल्ला वर्षहरुमा एकअर्कामा हिलो छ्यापेर महोत्सव मनाइए पनि यो वर्ष भने हिलो खेल्न तथा छ्याप्न पाइने छैन ।
सीमित सहभागिता र सुरक्षा मापदण्ड पालना गरी महोत्सवको कार्यक्रम गरिने बताइएको छ । भौतिक दुरी पनि कायम गरिनेछ ।  काठमाडौं उपत्यकामा भने कृषि विभागले खुमलटारस्थित कृषि अनुसन्धान परिषद्को हातामा कार्यक्रम गर्नेछ ।
कृषि विभागका महानिर्देशक, कञ्चनराज पाण्डेले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत कृषि अनुसन्धान परिषद् (नार्क) को खेतमा राष्ट्रिय धान दिवस गरेर रोपाइँको औपचारिक शुरुआत गरिने भएको जानकारी दिए ।
नेपालमा कूल खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशत जमिनमा रोपाइँ हुन्छ । जसमध्ये तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा माथि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here