ज्यान गुमाएकाहरूको दर्दनाक कथा यस्तो

8

एजेन्सी – सबैभन्दा चिसो ठाउँ भनेर चिनिने अन्टार्कटिका महादेश पृथ्वीको भाग  हो । त्यहाँको तापक्रम कहिलेकाहीँ माइनस ९० डिग्री सेल्सियससम्म झर्दछ । यसलाई हिम चिहान पनि भनिन्छ । इतिहासमा केही मानिसहरुले आफ्नो अन्तिम स्वास अन्टार्कटिकामै फेरेका छन् र धेरैको लास अझै पनि त्यहीँ गुमनाम छ ।

मानिसले प्रविधिको क्षेत्रमा जबरजस्त प्रगति गरेको भएता पनि अन्टार्कटिकामा प्रकृतिको भयंकर चुनौतीका अगाडि मानवीय प्रविधि निकै फिक्का सावित हुन्छ ।

अन्टार्कटिकाको खोजमा निस्किएका केही अन्वेषक तथा अनुसन्धान तथा प्रयोगका लागि गएका वैज्ञानिकलगायत कैयन् मानिसहरु अन्टार्कटिकामै सधैंका लागि हराएका तथा मरेका छन् । न त उनीहरुको लास भेटियो, न त हड्डी नै । कतिपय हिउँको बाक्लो पत्रमा डुबेर बिलिन भएभने कतिपय हिउँका ठुलाठुला दरारमा खसेर हराए ।

अन्टार्कटिकाको लिभिंग्स्टन टापुमा एकजना मानिसको खप्पर तथा खुट्टाको हड्डी पछिल्लो १७५ वर्षदेखि समुद्री किनारमै रहेको छ । अन्टार्कटिकामा भेटिएको त्यो नै हालसम्मको सबैभन्दा पुरानो मानव कंकाल हो । चिलीका खोजकर्ताहरुले उक्त मानव कंकाल फेला पारेका हुन् । उक्त कंकाल एकजना महिलाको रहेको र उनको २१ वर्षको उमेरमा मृत्यु भएको उनीहरुको ठहर छ । ती युवती चिलीका आदिवासी जनजातीसँग सम्बन्धित थिइन् र उक्त हड्डी फेला परेको ठाउँ चिलीभन्दा करिब एक हजार किलोमिटर टाढा छ।

हड्डीको विश्लेषणबाट अन्टार्कटिकामा ती युवतीको मृत्यु सन् १८१९ देखि १८२५ को बीचमा भएको पत्ता लागेको छ । त्यसैले ती युवती नै अन्टार्कटिकाम पुग्ने महिला मानव हुन् । तर चिलीकी एक आदिवासी युवती एक हजार किलोमिटर लामो डरलाग्दो समुद्री यात्रा पार गरी कसरी अन्टार्कटिका पुगिन् भन्ने कुराचाहिँ रहस्यमय नै बनेको छ ।कतिपय शोधकर्ताहरुका अनुसार पानी जहाजमा आउने युरोपेली माछा सिकारीहरुलाई बाटो देखाउँदै ती युवती उक्त टापुसम्म पुगेको हुनसक्छ ।

बेलायती अन्वेषक रोबर्ट स्कटको टोली सन् १९१२ को जनवरी १७ मा दक्षिणी ध्रुवमा पुगेको थियो । दक्षिणी ध्रुव पुग्ने पहिलो मानिस बन्ने अभियानमा उनी त्यता लागेका थिए । तर उनीभन्दा अगाडि नर्वेका रोआल्ड एमन्डसेन दक्षिणी ध्रुब पुग्न सफल भए ।

दक्षिणी ध्रुवमा पुगेर फर्किने क्रममा रोबर्ट स्कटको टोली चढेको पानीजहाज समुद्रमा हिमतुफानमा फसेको थियो । हिमतुफानमै परेर उक्त टोलीका सबैको दर्दनाक मृत्यु भयो । सन् १९६५ को अक्टोबर १४ मा अमेरिकी वैज्ञानिक जेरेमी बेले, डेभिड वाइल्ड र जोन विल्सनको अन्टार्कटिकामा मृत्यु भयो । उनीहरु तीनैजना एक गहिरो हिमखाडलमा खसेका थिए । त्यहाँ रहेका अन्य व्यक्तिहरुले उनीहरुलाई बचाउन सक्ने कुनै सम्भावना थिएन र उनीहरु सदाका लागि त्यहीँ अलप   भए ।

सन् १९८२ को अगष्टमा एम्ब्रोस मोर्गन, केभिन ओकलटन र जोन कोल नामका तीनजना व्यक्ति अन्टार्कटिकामा आफ्नो आधार सिविरबाट पिटरम्यन टापुमा अनुसन्धानका लागि गएका थिए । उनीहरु उक्त टापुमा पुग्दासम्म समुद्र जमेको थियो । तर टापुमा पुग्दासाथ तीव्र आँधीका कारण टापुसम्म आउने बाटो बनाएको बरफ बग्यो । जसका कारण उनीहरु टापुमै फसे । केही दिनसम्म त उनीहरु आफूसँग रहेको खानेकुरा तथा पानी खाएर बाँचे । उनीहरुको वायरलेस फोनले पनि काम गर्‍यो । तर खानेकुरा सकिएपछि उनीहरुले बाँच्नका लागि पेन्गुइन मारेर खान थाले । ब्याट्री सकिएपछि वायरलेसले पनि काम गर्न छाड्यो । एकदिन उनीहरु समुद्रको सतहमा बरफ जमेको देखेपछि टापुबाट आफ्नो आधार सिविरतर्फ हिँडे । तर उनीहरु आधार सिविर पुग्न सकेनन् र बिचबाटै बेपत्ता भए । उनीहरु समुद्रमा डुबेको आशंका गरियो । तर उनीहरुको लास कहिल्यै फेला परेन ।

अन्टार्कटिकामा ज्यान गुमाएकाहरुको लास मात्र होइन अवशेष फेला पर्न पनि असम्भव हुन्छ । त्यसैले अन्टार्कटिकामा ज्यान गुमाएका मानिसहरुको स्मृतिमा क्याम्ब्रिज विश्वविद्यालयस्थित स्कट पोलार रिचर्स इन्स्टिच्युटमा एक स्मारक बनाइएको छ । यद्यपि यो एक अधुरो स्मारक हो । यसको एउटा हिस्सा अर्जेन्टिनाको नजिकै रहेको फोकल्याण्ड टापुमा रहेको छ । अन्टार्कटिका यात्रामा जाने कैयन् अनुसन्धानकर्ताहरु फोकल्याण्डबाटै आफ्नो यात्रा सुरु गर्ने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here