पछिल्लो पटक आगामी शनिबार अर्थात १० साउनमा रथारोहणको मुहूर्त जुराइएको थियो । बुधबार दिउँसो मुहुर्त जुराएको गुठी संस्थानले साँझ फेरि रथयात्रा स्थगितको सूचना निकालेको छ । अब रथयात्रा कहिले गर्ने भन्ने अन्यौल कायमै छ । ललितपुरमा रथयात्रा अनिश्चित भइरहँदा भक्तपुरमा भने मत्स्येन्द्रनाथ र भोटोमाथि दाबी गर्नुपर्ने माग उठ्न थालेको छ ।
मत्स्येन्द्रनाथ भक्तपुर लगेको इतिहास छैन । तर भक्तपुरका संस्कृतिविदले प्राचीन किंवदन्तीलाई आधार मानेर समयमा रथयात्रा नभए आफूहरूले मत्स्येन्द्रनाथ र भोटोमा आफ्नो दाबी गर्ने जनाएका छन् ।
उनीहरु मध्ये एक संस्कृतिविद् विनोदराज शर्मा दशैंको फूलपातीसम्म पाटनमा रथयात्रा नभए मत्स्येन्द्रनाथ र भोटोमा भक्तपुरले दाबी गर्नुपर्ने वनाउँछन् । धार्मिक मान्यताअनुसार पाटनमा समयमा रथयात्रा नभए भक्तपुरको अखण्डश्री महाविहार (अखः बाहः) मा राखिएको मत्स्येन्द्रनाथकी आमालाई भेटाउन मत्स्येन्द्रनाथलाई लैजाने र त्यहीँ भोटो देखाउनुपर्ने हुन्छ । उनले भने, २०१८ सालमा हैजाको महामारीका कारण रातो मत्स्येन्द्रनाथको रथयात्रा समयमा हुन सकेको थिएन । त्यतिबेला भक्तपुरमा सिद्धिलक्ष्मी मन्दिरको पछाडिपट्टि रहेको सिलु महादेव मन्दिरको सिँढीमा राखेर भोटो देखाउने भनेर तयारी पनि गरिएको थियो ।
तर पाटनले हतारहतार रथयात्रा गरेर रातो मत्स्येन्द्रनाथलाई भक्तपुर लैजानबाट रोकेको उनी सम्झन्छन् । ‘मत्स्येन्द्रनाथकी आमाले समयमा रथयात्रा भएन भने आफू कहाँ आउन सुझाएकी थिइन् भन्ने मान्यता छ’ संस्कृतिविद् शर्माले अनलाइनखबरसँग भने, ‘यो पटक पनि पाटनले रथयात्रा गरेन भने हामी दाबी गर्छाैं ।’
संस्कृतिविद् ओम धौभडेल भने रातो मत्स्येन्द्रनाथ भक्तपुर लैजान सहज देख्दैनन् । उनका अनुसार अहिलेसम्म रातो मत्स्येन्द्रनाथको रथयात्रा समयमा नभएर भक्तपुर लैजानु परेको इतिहास भेटिएको छैन । तसर्थ हाल पाटनले रातो मत्स्येन्द्रनाथ भक्तपुरलाई जिम्मा दिने नै भयो भने पनि कसले त्यसलाई स्वीकार गर्ने ? भन्ने जटिल प्रश्न छ । उनका अनुसार २०१८ सालमा रथयात्राको तयारी गरेपनि भोटो लिन को जाने भन्ने अन्योल थियो । यद्यपि अहिले भक्तपुर र ललितपुरमा गुठी संस्थान छ, यसले पहल गरे हस्तान्तरण गर्न सकिन्छ ।र, पाटनले रातो मत्स्येन्द्रनाथको रथजात्रा समयमा गर्न नसके भक्तपुरवासीको नाताले दाबी गर्ने उनले जनाए ।
धौभडेल भन्छन् ‘किंवदन्तीले पनि पाटनमा जात्रा हुन नसके भक्तपुर लैजानुपर्ने जनाएकाे छ ।’ संस्कृतिविदका अनुसार भक्तपुर कापालाक्षीको करुणामय मन्दिरमा रातो मत्स्येन्द्रनाथको मन्दिर जस्तै स्वरूपको एउटा मूर्ति राखिएको छ । मत्स्येन्द्रनाथको अर्काे नाम करुणामय पनि हो । यो मूर्ति लिच्छविकालीन राजा नरेन्द्रदेवले स्थापना गरेको धौभडेल जानकारी दिएका छन् ।