१.हरेलापछिको कोल ः
वेमौसमको बाजा भन्ने अर्थमा हाम्रो गाउँघरतिर “हरेलापछिको कोल” भन्ने उखान प्रचलित छ । “भारतको अयोध्या नक्कली हो, असली अयोध्या नेपालको ठोरी हो” भनेर यता हाम्रा प्रधानमन्त्रीले दावा गर्छन् । भारतको भने कान बतास लाग्दैन । मान्छे बोलेको हो कि ढुङ्गो बोल्यो उसले कुनै मान र मान्यता दिदैन । अयोध्यामा राम मन्दिर बनाउने अनुमति भारतको सुप्रिंम कोर्टले दिइसकेको थियो । मन्दिर निर्माणका लागि जमिन तयार गर्ने काम निर्वाध निरन्तर चलिरहन्छ । र आगामी अगष्ट ५ को शुभ साइतमा मन्दिर निमार्णको पूर्वाङ्ग समारोहको रुपमा ‘भूमि पूजन’ गरिने समय सारिणी समेत प्रकाशित हुन्छ ।
बाबरी मस्जिदको तोडफोड भएको बीस बर्ष भैसक्यो । दिव्य बीस बर्षको विलम्वपछि उक्त स्थानमा राम मन्दिर बनाउने आदेश अदालतले दिन्छ । त्यतिञ्ज्याल हाम्रा प्रधानमन्त्री रिपभान विङ्किलझै निद्रामा मस्त रहन्छन् । जब उता राम मन्दिर बन्ने निश्चित हुन्छ अनि बल्ल अयोध्या नेपालमा पर्छ भनेर कुर्लन्छन् ।
प्रधानमन्त्रीको दावी विना सोचविचार आएको हो भनेर आलोचना गर्नेहरु पनि देखिएका छन् । त्यस्तो हो जस्तो लाग्दैन । १÷२ बर्ष पहिलेदेखि हाम्रा प्रमले त्यस्तो सोच बनाइसकेका थिए भनेर अर्का नेता वामदेव गौतमले खुलासा गरेका छन् । वामदेवको उदाहरण लिनै पर्दैन । प्रधानमन्त्रीका पुराना भाषणका रेकर्डहरु रिप्ले गरेर सुन्ने हो भने त्यसको पुष्टि हुन्छ । एक बर्ष अगाडि कुनै प्रसंगमा “हाम्रा पुर्खासँग पुष्पक विमान थियो, रामसँग हुनु भनेको हामीसँग हुनु हो” भनेकै थिए । उनको भनाईमा राम हाम्रा ज्वाई हुन् भन्ने आशय थिएन । राम नेपालकै नागरिक हुन् भन्ने अर्थ दिन्थ्यो । प्रसँगलाई अझ तन्काउदै “राइट ब्रदर्सले विमान उडाउनुभन्दा १५ सय बर्ष पूर्व अर्थात पाँचौ शताब्दीमै भार्गव मुनिले “विमानशास्त्र” नामको ग्रन्थ लेखका थिए भनेर समेत दावी गरेका थिए । विमान विज्ञानका जन्मादाता पूर्वीया ऋषि महर्षि हुन् र हामी तिनै महान पुर्खाका महान सन्तान हौ भनेर बाम्बार गर्व गर्ने गरेकै थिए । अर्थात अयोध्यामाथि दावी गर्ने उनको तयारी निकै पुरानो थियो ।
भार्गवऋषिको विमान शास्त्र र पुष्पक विमान स्वतः गाँसिने कुरा भैहाले । संसारकै जेठो भनेर पुष्पक विमानलाई मान्नै प¥यो । पुष्पक विमानसँग रावणको नाम जोडिन आउँछ । त्यसैले कुरो शुरु गरौं रावणबाटै !
२.रावण कथाः
रावणको कथा लङ्कासँग मात्रै जोडिदैन । थाइल्याण्ड, इन्डोनेशिया, भारत लगायत पर्सिंयासम्म रावणको नाम पुगेको छ । थाइल्याण्डमा लङ्काद्विप छ । लङ्का भएपछि रावण हुने नै भो । बाल्मिकि रामायण अनुसार रावण लङ्गापति मानिन्छ । बौद्धग्रन्थगमा बौद्ध विद्वानका रुपमा रावणको कथा छ । पर्सियामा रावेन वंशका मानिसहरुको अस्तित्व अझसम्म छ । भारतमा त ११ भाषामा रामायण लेखिएको छ । ती मध्ये “लाहौली रामायण” अरुभन्दा फरक छ । उक्त रामायणमा सीतालाई रावणकी छोरी भनिएको छ । रावणले होइन, रामले सीताको हरण गरेका हुनाले राम–रावण युद्ध हुन्छ । युद्धमा रावण मारिन्छ तर रामको हातबाट भने होइन । आप्mनै छोरी सीताले रावणको वध गर्छिन् ।
नेपालमा पनि रावणको कथा छ । म्याग्दी जिल्लाको बेनी नगरपालिका–५ को “पछै” भन्ने डाँडोको टुप्पामा पुलस्त्यको आश्रम छ । आश्रमको नगिचै दक्षिणपश्चिम दिशामा रावणको नाभी गाडिएको ठाउँ छ । अलिकता तलतिर झरेपछि “अर्थुेुङ्गे” भन्ने गाउँ छ । त्यो गाउँको बीचमा बाल रावणले खेल्ने गरेको मैदान छ । हाल त्यस ठाउँमा खेती गरिन्छ तर नाम भने “राउन्नेको गरो” भनेर चिनिन्छ । रामको जन्मभूमीको दावी गर्ने प्रधानमन्त्रीजीको कानमा शायद म्याग्दीको किवदन्ति पुगेको रहेनछ कि ? नत्र रावण पनि नेपाली हो, उसको जन्मभूमि नेपालै हो भनेर दावी गर्दा हुन् । किनकि ठोरीबाट उ जमानामा लङ्गासम्म पैदलै हिँडेर पुग्नु सम्भव थिएन । “ठोरी टु म्याग्दी”को ट्रेकिङ्ग भने सजिलै गर्न सकिन्छ ।
रावणको जन्मभूमीको चर्चा प्रधानमन्त्रीको मुखबाट नसुनिएकै भए पनि “हामीसँग पुष्पक विमान थियो” भनेकै हुन् । पुष्पक विमानको स्वामित्व रामसँग थिएन । त्यो त रावणको सम्पत्ति थियो । बाल्मिकि रामायण अनुसार उक्त विमान रावणले आफ्ना विमातृक भाइ कुवेरबाट खोसेको थियो । पुष्पक विमान कसले कहिले बनायो अथवा विमान उत्पादक कम्पनी कुन थियो, कहाँ थियो भन्ने कुरा कतैबाट खुल्दैन । अज्ञात श्रोतबाट कुवेरको हात परेको थियो । कुवेर धनका देवता थिए । उनीसँग धनको खाँचो थिएन । एउटा विमान भाइले खोसे पनि दोश्रो विमान खरिद गर्ने रुचि किन देखाएनन् भन्ने कुरा पनि कतैबाट खुल्दैन ।
३.पुष्पक विमानको वास्तविकताः
राम कथा त्रेता युगको हो भनिएको छ । त्यस युगमा विमान विज्ञान विकसित थियो भनेर मान्ने हो भने पुष्पक बाहेक अरु विमानहरु पनि हुनुपर्ने हो । स्वयम रावणले सीताको स्वयम्वरमा जनकपुर आउँदा विमान ल्याएको कथा छैन । सीताहरण गर्दा जङ्गलमा उत्रन सक्ने विमान जनकपुरमा अवतरण गर्न सक्तैनथ्यो भन्न मिल्दैन । राम अयोध्या फर्कदा पनि पुष्पक विमानको प्रयोग गरेका थिए भनिएको छ । साँचै विमान थियो कि थिएन भन्ने प्रश्न अलग हो, पुष्पक विमानको रचनाशिल्प कस्तो थियो भन्ने विषयमा वाल्मिकि रामायण यसरी बोल्दछ ः
(क).अरण्यकाण्डको ४८। ५ र ६मा कुवेरबाट रावणले पुष्पक विमान खोसेको प्रसंग आउँछ ।
(ख).त्यही काण्डको ४८। २०,२३ र २४ मा रावणको पुष्पक विमानमा २५ वटा गधा जोतिएका थिए भनेर लेखिएको छ ।
(ग).अरण्यकाण्डको ४९। १६ र १७ मा पंक्षीराज जटायुले पुष्पक विमानमा जोतिएका गधा र सारथीको हत्या गरिदिए भनेर लेखिएको छ ।
विचारणीय कुरा के हुन आउँछ भने आकाशमा उड्ने विमान तान्नका लागि गधा किन प्रयोग गरियो ? मनचिन्ते विमान चलाउने सारथी(पाइलट) को आवश्यकता किन प¥यो होला ? त्यति मात्रै होइन, पच्चीस गधा विमानमा नार्नका निमित्त तीनवटा बाँसका घारालाई जुवा बनाइएको थियो भनेर पनि ती श्लोकहरुमा लेखिएको छ । अर्थात रावणको पुष्पक विमान भनेको गधाले तान्ने रथ थियो भन्ने कुरा वाल्मिकि रामायण स्वयम् साँक्षी बक्छ ।
(४). भार्गवमुनिको विमानशास्त्रः
पुष्पक विमानको कथा नक्कली थियो भन्ने कुराको प्रमाण स्वयम आफै वाल्मिकि, उनको रामायण र अरण्यकाण्डमा परेका श्लोकहरु बनेका छन् । पुष्पक विमानको प्रसंगमा भार्गवमुनिकृत “विमानशास्त्र”को कुरा पनि प्रधानमन्त्रीबाट सार्वजनिक भएको हुनाले स्वभावत त्यसको वास्तविकता जान्ने उत्सुकता सबैमा हुने नै भो । त्यसैले विमान शास्त्रको इतिहास पनि अलिकता कोट्याउँ ।
सन् २०१५ को कुरा हो । जवरी ३—७ सम्मको मुम्वइमा भएको “इन्डियन साइन्स कंँग्रेस एसोसियन” नामको पाँच दिने सेमिनारमा प्रो. आनन्द दासले छलफलका लागि “वैदिक कालमा विमानद्वारा एउटा द्विपबाट अर्कोमा मात्रै होइन, एकबाट अर्को ग्रहमा पनि आउजाउ हुन्थ्यो” भन्ने विषयको कार्यपत्र प्रस्तुत गरे । त्यति मात्रै होइन, शिवकर बाबुजी तलपडे नामका भारतीयले राइट ब्रदर्शसले भन्दा ८ वर्ष अगाडि अर्थात सन १८९५ मा सर्वप्रथम विमान उडाएका थिए भनेर समेत दावी गरे । त्यही सिलसिलामा तलपडेको प्रसंग संगै विमानशास्त्र भन्ने पुस्तक पनि जोडिएर आयो ।
(५).को थिए डा. तलपडे ?ः
प्रताप वेलकर नामका इतिहासकारले “बम्बैको इतिहास” भन्ने मराठी भाषाको पुस्तकमा तलपडे र उनको विमानको बारेमा सविस्तार लेखेका थिए । उक्त पुस्तकमा तलपडेले भार्गव ऋषिले रचना गरेको “वृहदविमानशास्त्र” नामको ग्रन्थको सहायतामा विमान बनाएर उडाएका थिए र भार्गवऋषिले विमान सूत्र वेदबाट लिएका थिए भनेर लेखिएको थियो । तत्कालीन समयमा नासामा कार्यरत भारतीय मूलका वैज्ञानिक प्रो. आशिष वर्माले त्यो कथा नक्कली हो भनेर विरोध गरे पनि भारतभर विमान शास्त्र, भार्गवऋषि, वेद सूत्र र तलपडेको व्यापक चर्चा चल्यो । समाजमा अत्यधिक चर्चा हुन थालेपछि त्यसको सत्यता छानविन गर्न सरकारले क्ष्क्ष्क्अ या द्यबलनबगिचग ( इन्डियन इनस्च्यिुट अफ साइन्स) को जिम्मा लगायो ।
(५).विमानशास्त्रको प्रकाशनः
वृहदविमानशास्त्र सन १९५९ मा प्रकाशित भएको थियो । त्यसमा ३२ किसिमबाट ५ सय प्रकारका विमानहरु बनाउन सकिने फर्मुला दिइएको थियो । उक्त विमानशास्त्र भारद्वाजले तयार पारेको पाण्डुलिपीको आधारमा लेखिएको हो भनेर दावी गरिएको थियो ।
सन् १९६९ मा प्रकाशित भएको अँग्रेजी भर्सन पनि आइआइएससीले प्राप्त गरेको थियो । पुस्तकको सम्पूर्ण विषयवस्तु अघिल्लो पुस्तकको अनुवाद थियो । फरक कति थियो भने अँग्रेजी भर्सनमा विमानका केही रेखाचित्रहरु पनि समावेश गरिएको थियो ।
(६).विमानशास्त्रको वास्तविकताः
विमानशास्त्रको तथ्य पत्ता लगाउने सिलसिलमा क्ष्क्ष्क्अ ले पुस्तकको मूल पाडिुपिलीको खोजी ग¥यो । संस्कृति भर्सनको पाण्डुलिपमिा मिति ९।८। १९१९ मा गो. वैकटाचल शर्मा नामका व्यक्तिको हस्ताक्षर रहेको भेटियो । अंग्रेजी भर्सन वरोदाको लाइब्र्ेरीमा फेला प¥यो । त्यसमा १९४४ को मिति थियो र जी.आर. गोसियरको हस्ताक्षर रहेको पाइयो ।
७). विमान शास्त्रको अनुसन्धानको निष्कर्ष ः
लामो अनुसन्धान, अध्ययन र प्रयोगबाट क्ष्क्ष्क्अ ले विमानशास्त्र नामको पुस्तक विलकुल फर्जी भएको निष्कर्ष निकाल्यो । त्यस पुस्तकमा दिइएको सूत्रको आधारमा विमान होइन, साधारण चङ्गा उडाउन पनि सकिदैन भन्योे । १९५९ मा कुनै भार्गव नामका ऋषि भएको प्रमाण लाग्दैन, तलपडे नामका व्यक्तिले जहाज उडाएका थिए भन्ने कुरा पनि प्रमाणित हुदैन, विमानशास्त्रको संस्कृत भाषा वेदभाषा वा पूरानो जमानाको संस्कृतको ढाँचासँग मिल्दैन, विलकुल आधुनिक संस्कृति भाषाको प्रयोग भएको हुनाले विमानशास्त्र प्राचीन हो भन्न मिल्दैन । त्यो फर्र्जी दस्तावेज वास्तवमा सन् १९००– १९२२ भित्र पंडित शुभराया शास्त्रीले तयार गरेका हुन भनेर १९७४ मा रिपिोर्ट सार्वजनिक ग¥यो । उक्त रिपोर्ट अहिले पनि उक्त इन्स्टिच्युटको आधिकारिक वेभसाइटमा उपलब्ध छ ।
हाम्रा प्रधानमन्त्रीले आफै उब्जाएर हल्ला गर्ने गरेका होइनन् । आफूले सुनेको हल्ला सार्वजनिक गर्ने गरेका मात्र हुन् । नेपालका (धादिङे) विमान पण्डितले चन्द्रसमशेरको शासनकालमा पचली भैरवबाट विमान उडाएको हल्ला चले जस्तै भारतमा डा.तलपडले सन् १९९५ मा विमान उडाएका थिए भन्ने हल्ला चलेको साँचो रहेछ । हाम्रा प्रधानमन्त्रीले विमान उडाइएको र उक्त विमान निर्माणमा भार्गवऋषिकृत विमानशास्त्रको सूत्र प्रयोग गरिएको थियो रे भन्ने हल्ला सुनेका रहेछन् तर उक्त हल्ला सत्य साँच्चो हो होइन भनेर गरिएको वैज्ञानिक अध्ययन अनसुन्धानको रिपोर्ट हेर्न भने भ्याएका रहेनछन् । अथवा विमान उडेको हल्ला जस्तै अनुसन्धान रिपोर्टको हल्ला सार्वजनिक नभैदिनाले विचरालाई आजसम्म भ्रममा डुबाएको रहेछ । त्यतिखेर कान छाम्न छोडेर कौवाका पछि कुद्नुको कारण त्यो पो रहेछ । – जनधारणाा साप्ताहिक

















