काेभिड १९ समुदायतर्फ : स्वास्थ्य संकटकालको आवश्यकता हो कि होइन ?

74

काठमाडाैं – सरकारले लकडाउन अन्त्यको घोषणा गरेपछि कोरोना संक्रमणको जोखिम झन बढेको छ । एकातिर संक्रमितको संख्या कम हुन सकेको छैन भने अर्कोतिर भेटिएका संक्रमितमा लक्षण देखिन थालेको छ । जसका कारण उच्च जोखिमको महसुश हुन थालेको छ । तर सरकारले नयाँ कुनै कदम चाल्ने योजना बनाएको छैन ।

संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार नेपालभर या देशको कुनै भागको मानिसमा कुनै संक्रामक रोग फैलिने देखिएमा रोकथाम गर्न सर्वसाधारण जनता वा कुनै व्यक्तिहरूको समूह उपर लागु हुने गरी आवश्यक आदेश जारी गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या २ हजार नाघेपछि स्वास्थ्य संकटकाल घोषणा गर्ने प्रस्ताव मन्त्रीपरिषद लैजाने तयारी गरेको थियो । तर त्यसबेला स्वास्थ्य संकटकाल नै लगाउनुपर्ने अवस्था नभएको सुझाब पाएपछि मन्त्रालय पछि हट्यो ।

तर अहिले अवस्था फरक छ । कोरोना संक्रमितको संख्या १९ हजार नजिक पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार नजिक छ । त्यसैगरी मृत्यु हुनेको संख्या ४८ पुग्न लागेको छ । अझ डरलाग्लो पक्ष त के छ भने पछिल्ला दिनमा भेटिएका संक्रमितमा कोरोनाको लक्षण पनि देखिन थालेको छ । लक्षण नै देखिनुलाई विज्ञहरुले खतरनाक भनेका छन् । कोरोनाको पछिल्लो अवस्थाबारे जानकार सर्वसाधारण पनि डराउन थालेका छन् ।

उता सरकार भने आफ्नै अडानमा छ । कोरोना नियन्त्रणका लागि गरेको काम सन्तोषजक भएको दावी गरिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गरेका प्रयासहरुलाई नकारात्मक रुपमा प्रचारबाजी गर्ने काम भइरहेको आरोप लगाएका छन् । सीमित स्रोत साधनका बाबजुत पनि प्रभावकारी रुपमा काम गरेको दावी गर्दै मन्त्री ढकालले कोरोना नियन्त्रणका लागि गरेको प्रयास दक्षिण एसियामा नै राम्रोसमेत दावी गरेका छन् ।

पछिल्ला दिनमा काठमाण्डौ उपत्यकामा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । तर स्वास्थ्य संकटकाल नै घोषणा गर्नुपर्ने अवस्था नरहेको मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारी जनाएका छन् । संक्रमण हालसम्म समुदायमा फैलिएको छैन । तर जुनसुकैबेला फैलिनसक्नेप्रति सरकार चनाखो भएको पाइदैन । तसर्थ सरकार बेलैमा सचेत होस्, जसले कोरोनाको महामारी थप फैलिन नपाओस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here