कैलालीमा उद्धार कार्य जारी

89

धनगढीकैलालीका डुबान प्रभावितहरूको उद्धार कार्य आज पनि जारी रहेको छ । बाढी अझै नघटेकाले बिहानैदेखि उद्धार कार्य पुनः सुरु गरिएको हो । डुबेकै घरमा रातभरि बसेका र हिजो उद्धार गर्न नसकिएका परिवारको उद्धार कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय कैलाली ले जानकारी दिएको छ ।

प्रभावितहरूको उद्धारका लागि साढे चार सय सुरक्षाकर्मी खटिरहेको सूचना अधिकारी शिवराज जोशीले जनाउनुभयो । उहाँका अनुसार बाढी थोरैमात्रै घटेको छ । तर, डुबानमा परेका घरहरू अझै निस्केको छैन । उद्धारमा खटिएका सुरक्षाकर्मीले कोरोनाको पर्वाह नगरी बाढी प्रभावितको उद्धार गरिरहेका छन् ।
बुधबार आएको बाढीले जिल्लाको विभिन्न स्थानीय तहका छ हजार ३२० घरपरिवार प्रभावित भएका छन् । बाढीमा बगेर भजनी नगरपालिका–८ का तीन जना बेपत्ता भएका छन् । बाढीमा बगेका तीन जनाको सकुशल उद्धार गरिएको छ ।


जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार जोशीपुर गाउँपालिकामा दुई हजार ३१५ घर डुबानमा परेको छ । यसैगरी, भजनी नगरपालिकामा दुई हजार १८०, जानकी गाउँपालिकामा एक हजार र टीकापुर नगरपालिकामा ८२५ घरपरिवार प्रभावित भएका छन् । विस्थापित परिवारको तथ्याङ्क भने अहिलेसम्म यकिन भएको छैन । विस्थापित परिवारको तथ्याङ्क सङ्कलनको कार्य भइरहेको जोशीले जनाउनुभयो ।
बाढी प्रभावितहरूको उद्धारमा स्थानीय विपद् व्यवस्थापन समिति, जनप्रतिनिधि, सुरक्षाकर्मी खटिएका छन् । विस्थापित भएकाहरूलाई हुलाकी राजमार्ग, विद्यालय र सामुदायिक भवनमा राखिएको छ । 
बाढी तथा डुबान भएको २४ घण्टा पुगेको छ । उनीहरू चाउचाउ, बिस्कुट र पानीमात्रै खाएर बसिरहेका छन् । प्रभावितहरूको उद्धार कार्य नसकिएकाले तत्काललाई फास्ट फुड मात्रै दिइरहेको भजनी नगरपालिका स्तरीय विपद् व्यवस्थापन समितिका स्रोतव्यक्ति खिम पनाडीले बताउनुभयो ।
‘उनीहरूलाई बिस्कुट, चाउचाउ र पानी दिइएको छ’, उहाँले भन्नुभयो, ‘किनभने, उद्धार कार्य सकिएको छैन ।’  कर्णाली नदीमा पानीको सतह घटे पनि पथरैया, मोहना र काँढा नदीमा पानीको सहत फेरि बढ्न लागेको उहाँले बताउनुभयो । ‘पुनः डुबान बढ्ने सम्भावना बढेको छ’, पनाडीले भन्नुभयो ।


बाढीले घर, पशुचौपाया, खेतीपाती र घरमा रहेको खाद्यान्नमा व्यापक क्षति गरेको जनाइएको छ । बाढीले स्थानीयका घरहरू भत्काउनुका साथै घरमा भण्डारण गरिएका सम्पूर्ण खाद्यान्न बगाएर लगेको भजनी नगरपालिका–३ का वडा अध्यक्ष विक्रम चौधरीले बताउनुभयो । ‘बाढीले व्यापक क्षति गरेको छ’, उहाँले भन्नुभयो, ‘क्षतिको अहिलेसम्म कुनै लेखाजोखा नै गर्न सकिने अवस्था छैन ।’ बाढी नघटेको र वर्षा नरोकिएकाले प्रभावितहरूको कन्तबिजोग भएको वडा अध्यक्ष चौधरीले बताउनुभयो ।
कैलालीमा अझै पनि वर्षा रोकिएको छैन । गएरातिबाट पुनः भइरहेको अविरल वर्षाका कारण मोहना, पथरैया र काँढा नदीमा पानीको सतह फेरि बढिररहेको बताइएको छ । पछिल्लो २४ घण्टामा कैलालीमा १९८ मिलिमिटर पानी परेको हावापानी फिल्ड कार्यालय अत्तरियाका प्रमुख सिङ्गल चौधरीले जानकारी दिनुभयो । उहाँले वर्षा नरोकिएका कारण नदीमा पुनः पानीको सतह बढिरहेको उल्लेख गर्नुभयो ।


यता, गएरातिबाट पुनः भइरहेको अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिकाको विभिन्न क्षेत्रमा डुबान भएको छ । पानीको निकास नभएका कारण मिलन चौक, विशालनगर, बैइयाबेहडी, पार्क मोड, बोराडाँडीलगायत क्षेत्रमा डुबान भएको हो । गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here