काँग्रेसमा क्रियाशील सदस्यताको चटारो

55

काठमाडौं – नेपाली काँग्रेसले आगामी १४औँ महाधिवेशन प्रारम्भिक तयारीलाई अगाडि बढाउने क्रममा क्रियाशील सदस्यताको चटारो सुरु भएको छ । वडा तहमा क्रियाशील सदस्यता वितरण अभियानलाई अगाडि बढाएसँगै यो चटारो सुरु भएको हो । यस अधिवेशनको क्रममा थप साढे दुई लाख नयाँ क्रियाशील सदस्य बनाउने काँग्रेसको योजना छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले समायोजन सकिएका जिल्लामा पार्टीको क्रियाशील सदस्यताको फाराम वितरण गर्ने कार्य वडा तहमा धमाधम भइरहेको जानकारी दिए । कोरोना भाइरसको उच्च जोखिम रहेका स्थानमा सदस्यता फाराम वितरणमा समस्या भए पनि अन्य स्थानमा क्रियाशील सदस्यता वितरणको कार्य तीव्र गतिमा भइरहेको जानकारी दिँदै उनले भने, जहाँ समस्या छ, त्यहाँ अवस्था सहज भएपछि वितरण हुन्छ ।

नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुुसार १३औँ महाधिवेशनमा कायम चार लाख ७० हजार र विदेशस्थित जनसम्पर्क समितिबाट २० हजार क्रियाशील सदस्य छन् । त्यसैगरी काँग्रेसमा प्रवेश गरेपछि नेता विजयकुमार गच्छदारको पार्टीका २५ हजारलाई क्रियाशील सदस्यता दिने सहमति पार्टीमा भइसकेको छ । यसरी हाल कायम रहेको क्रियाशील सदस्यको सङ्ख्या करिब पाँच लाख १५ हजार हुन्छ ।

काँग्रेसले २०७६ फागुन १३ मा जिल्ला सभापतिहरूलाई पठाएको क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी परिपत्रमा १३औँ महाधिवेशनमा कायम कुल क्रियाशील सदस्यको ५० प्रतिशतसम्म थप्न सकिने उल्लेख छ । यसरी ५० प्रतिशत थप्ने हो भने काँग्रेसका नयाँ क्रियाशील सदस्य करिब दुई लाख ५७ हजार थपिने आजको गोरखापत्र दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here